भूकम्पपीडितका लागि पहिलो किस्ता निकासा

भूकम्पपीडितका लागि पहिलो किस्ता निकासा

काठमाडौँ । जाजरकोट भूकम्पपीडितको निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम निकासा भएको छ । भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि ३५ महिनापछि बजेट निकासा भएको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले निजी आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्ताबापत भेरी नगरपालिकालाई ९४ लाख रुपियाँ निकासा गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले स्वीकृत कार्यविधिबमोजिम अन्य स्थानीय तह तथा बाँकी लाभग्राहीका लागि पनि प्रक्रिया पूरा भएपछि रकम निकासा गर्दै जाने उहाँले बताउनुभयो ।

पहिलो किस्ता रकम निकासा भएसँगै लामो समयदेखि अस्थायी टहरामा कष्टकर जीवन बिताइरहेका भूकम्पपीडितमा आशा पलाएको छ । स्वीकृत कार्यविधिअनुसार स्थानीय तहले प्रक्रिया पूरा गरी लाभग्राहीको बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था छ ।

कार्यविधिअनुसार प्रतिलाभग्राही ५० हजार रुपियाँका दरले रकम उपलब्ध गराउने व्यवस्था छ । सोहीअनुसार पहिलो चरणमा भेरी नगरपालिकाभित्रका १८८ घरपरिवारका लागि ९४ लाख रुपियाँ स्थानीय तहको खातामा पठाइएको हो ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले १८८ घरपरिवारका लागि पहिलो किस्ताको रकम नगरपालिकामा निकासा भएसँगै अब निजी आवास पुनर्निर्माणले गति लिने आशा पलाएको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार