सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा युवा महोत्सव सुरु हुने भएको छ । परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रबार २ दिने युवा महोत्सव सुरु भएको हो । महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले कर्णालीको परिचय बदल्न युवाहरुको साथ र संकल्पको जरुरी रहेको बताउनुभएको छ । सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने उहाँको भनाइ छ । ‘सरकारले सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छ, युवाको सकारात्मक साथ आवश्यक छ,’ उहाले भन्नुभयो, ‘मैंले कहिल्यै कर्णालीको शीर निहु¥याउने काम गर्ने छैन्, प्रदेशको विकासमा युवाहरुलाई साथमै राख्नेछु ।’ यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरुले निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताउनुभयो ।
महोत्सव स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवर्तन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका विभिन्न विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ छ ।युवाहरुमा आशा जागृत गराउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक हिमाल विष्टले बताउनुभयो । कार्यक्रमका प्रमुख सल्लाहकार भूपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवाहरुको सशक्तीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गर्न लागिएको शाहीको भनाइ छ ।
कार्यक्रममा कर्णाली प्रदेशदेखि देशलाई विशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्वलगायत स्थानीय कर्णालीका प्रतिभाशाली युवाहरूको उपस्थिति रहेको छ ।