मुसिकोट । रुकुम पश्चिमका ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत दश हजार बढी किशोरीलाई खोप लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहि माघ २२ गते देखि फागुन ६ गतेसम्म पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीलाई लगाइने भएको हो
अभियान अन्तर्गत रुकुुम पश्चिममा दश हजार १९३ छात्रालाई खोप लगाइने भएको हो ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले विद्यालयमा गएर अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपिभी खोप लगाइने बताउनुभयो ।
जसअन्तर्गत कक्षा ६ देखि १० सम्मका नौ हजार ९६० छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका २३३ किशोरीलाई खोप लगाइने छ ।
जिल्लाको मुसिकोट नगरपालिकाका २ हजार १८० जना, आठबिसकोट नगरपालिकाका २ हजार १७९ जना र चौरजहारी नगरपालिकाका १ हजार ५३१ छात्रा तथा किशोरीलाई एचपिभी खोप दिइने भएको छ ।
यसैगरी सानीभेरी गाउँपालिकाका १ हजार ५५९, त्रिवेणी गाउँपालिकाका १ हजार २७९ र बाँफिकोट गाउँपालिकाका १ हजार २३२ छात्रा तथा किशोरीलाई उक्त खोप लगाउने योजना रहेको ओलीले जानकारी दिनुभयो । एचपिभी खोप अभियानका लागि २०७ वटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने भएको छ । अभियानलाई सफल पार्न जिल्लाभर २१२ जना स्वास्थ्यकर्मी र ४४४ जना स्वयंसेवक परिचालन हुने भएका छन् ।
रुकुम पश्चिममा दश हजार किशोरीलाई एचपिभी खोप लगाइने
