मुसिकोट १ कैलदेऊमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

मुसिकोट १ कैलदेऊमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर कैलदेउमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नगर प्रमुख महेन्द्र केसीले सो केन्द्रको उद्घाटन गर्नुभएको हो । आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख केसीले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले कैलदेउ लगायतको गाउँका सर्वसाधारणहरु स्वास्थ्य सेवा लिन सल्ले, छिङ जानुपर्ने बाध्यताको अन्त्य गर्न कैलदेउमा उक्त केन्द्र सञ्चालन गरिएको जनाउनुभयो ।

वडा नं १ का वडाध्यक्ष ज्ञानु चन्द्र चन्दले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताउनु भयो ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य अधिकृत मान बहादुर खत्रीले स्वास्थ्य सेवाको सुविधा लिन टाढा रहेका बस्तीहरुलाई लक्षित गरेर कैलदेउमा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताउनुभयो । खत्रीका अनुसार गत वर्षबाट नै सेवा सुरु गरिएको शहरी स्वास्थ्य केन्द्रको आज औपचारिक उद्घाटन गरिएको हो ।

केन्द्र सञ्चालनको लागि कैलदेउको एक घरमा दुई कोठामा भाडा लिईएको छ भने अहेब मेघराम ओलीलाई अर्को व्यवस्था नभएसम्मको लागि उक्त स्वास्थ्य केन्द्रमा खटाईएको छ । कार्यक्रममा नगर प्रमुख केसीसहित वडा अध्यक्ष ज्ञानु चन्द्र चन्द, नगरपालिकाका कर्मचारीहरु, स्थानीयवासीहरुको लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार