काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच तीन वटा विषयमा सहमति भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो। सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ।
स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् ।
सहमतिसँगै सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरुका मागहरु पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए।
‘आन्दोलनका बारेमा हामीले पटक पटक छलफल गर्यौं र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित केही विषयहरु थिए। त्यसको बारेमा हामीले दुई पक्षीय समझदारी गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ। त्यो प्रतिवद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ यो आन्दोलन उहाँहरुको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरु फिर्ता लिन तयार हुनुभएको छ,’ मन्त्री पौडेलले भने।
उनले आवासीय चिकित्सकहरुलाई काम गर्ने वातावरण बनाइदिन पनि निजी मेडिकल कलेजसँग आग्रह गरेका छन्। चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरु सबै कार्यान्वयन गर्नेगरी मन्त्रालयले वातावरण बनाउने प्रतिवद्धता मन्त्री पौडेलले व्यक्त गरे।
आवासीय चिकित्सकहरुले निर्वाह भत्ता आठौं तहसरह हुनुपर्ने, आवासीय चिकित्सकहरुको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएमन थिए।
मन्त्री पौडेलले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिवद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरु काम गर्न फर्किसकेको बताए।
स्वास्थ्यमन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएको बताए।
आन्दोलित स्वास्थ्यकर्मीहरूले प्रतिबद्धता पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।
मन्त्री पौडेलले भने सरकारको तदारुकता र निजी मेडिकल कलेजको प्रतिवद्धताअनुसार फेरि आन्दोलनमा आउनु नपर्ने विश्वास व्यक्त गरे। (न्युज एजेन्सी नेपाल)