नेपालमा बाघ संरक्षण र मानव–बाघ द्वन्द्वको चुनौती

नेपालमा बाघ संरक्षण र मानव–बाघ द्वन्द्वको चुनौती

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने देशहरूको सम्मेलनमा नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने लक्ष्य समय अगावै हासिल गर्‍यो, जुन विश्वमै ऐतिहासिक उपलब्धिको रूपमा लिइएको छ । बाघ संरक्षणमा नेपालले हासिल गरेको सफलता विश्वकै उदाहरणीय अभ्यास बनेको छ । सुरुवाती चरणमा बाघ गणना अनुमानमा आधारित भए पनि हाल वैज्ञानिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मान्यतासहित सञ्चालन हुँदै आएको छ । नेपालमा सन् २००९ मा सुरु भएको बाघको औपचारिक गणनामा १२१ वटा पाटेबाघबाट औपचारिक रूपमा बाघ संरक्षण थालेको नेपालले हालसम्म बाघको संख्या ३५५ वटा पुर्‍याएको छ । पछिल्लो बाघ गणना कार्य भने जारी रहेको छ र यसले पनि बाघको संख्यामा केही वृद्धि हुने आँकलन गरिएको छ । विश्वमा ऐतिहासिक रूपमा ९ वटा बाघका उप–प्रजाति पहिचान गरिएका थिए तर तीमध्ये ३ प्रजाति लोप भइसकेका छन् र हाल ६ प्रजाति मात्र जीवित छन् । त्यही प्रजातिमध्येको रोयल बंगाल टाइगर अर्थात् पाटे बाघ (Royal Bengal Tiger) नेपालमा पाइने क्याट परिवारको सबैभन्दा ठूलो प्रजाति हो ।

बाघ (Panthera tigris tigris) नेपालका संरक्षित वन्यजन्तुहरूमध्ये एक प्रमुख र संकटापन्न प्रजाति हो । बाघलाई नेपालको राष्ट्रिय गौरवका रूपमा लिइन्छ र यसले पारिस्थितिकीय प्रणालीको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दछ । नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि हुनु गौरवको विषय भए तापनि, यससँगै मानव–बाघ द्वन्द्व (Human-Tiger Conflict) पनि एउटा गम्भीर समस्याको रूपमा देखा परेको छ । बाघ मांसाहारी वर्गमा पर्ने भएको र यसको आहाराको रूपमा विभिन्न वन्यजन्तुहरूको सिकार गर्ने क्रममा हाल निकुञ्ज तथा आरक्ष वरिपरिको मानव वस्ती विस्तारसँगै बाघको वासस्थानमा आएको संकुचनले गर्दा बाघ र मानवबीचको द्वन्द्व पछिल्लो समय चरम विन्दुमा पुगेको छ । यसकै एक ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ पछिल्लो केही समयमा कर्णाली प्रदेशको सल्यान जिल्लाको कालीमाटी गाउँपालिकामा बाघबाट भएको मानवीय तथा पशुधनको क्षति ।

नेपालको कर्णाली प्रदेश जैविक विविधताले समृद्ध भए तापनि छिमेकमा रहेको लुम्बिनी प्रदेशमा रहेका बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघको कारण मानव–वन्यजन्तु द्वन्द्व (Human–Wildlife Conflict) यहाँ गम्भीर समस्याको रूपमा देखा परेको छ । वन क्षेत्रको नजिक मानव बस्ती विस्तार, जीविकोपार्जनका लागि वनमा निर्भरता, पूर्वाधार विकास तथा जलवायु परिवर्तनका कारण पछिल्लो समय यस क्षेत्र लगायत समग्र नेपालभर नै मानव वन्यजन्तु द्वन्द्वका घटनाहरू बढ्दो क्रममा छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा चितुवा, भालु र बाघ जस्ता वन्यजन्तुबाट मानव र पशुधनमा क्षति पुग्ने घटनाहरू बढ्दो छन् । कृषिमा आधारित जीविकोपार्जन प्रणालीका कारण बाली नष्ट हुने समस्या स्थानीय समुदायका लागि ठूलो चुनौती बनेको छ । यसले समुदायमा वन्यजन्तुप्रति नकारात्मक दृष्टिकोण विकास गराउँदै संरक्षण प्रयासलाई कमजोर बनाउने जोखिम उत्पन्न गरेको छ । अर्कोतिर मानिस खान पल्किएको बाघ व्यवस्थापनको अन्तिम विकल्प नै उक्त बाघलाई मार्नु हो भन्ने भ्रम आम जनताहरूमा परेको छ र सम्बन्धित निकायले यस्ता कानुनी व्यवस्थाहरूको बारेमा जनस्तरमा जनचेतनामुखी कार्यक्रमहरू सञ्चालन गर्न नसक्दा पनि मानव वन्यजन्तुबीचको द्वन्द्व चरम विन्दुमा पुगेको छ । नेपाल सरकारले वर्षेनी करोडौँ रकम खर्चेर संरक्षण गरेका हाम्रा राष्ट्रिय गौरवका वन्यजन्तुहरूलाई हामीले उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा कयौँ स्थानीय जनसमुदायहरूमा वन्यजन्तुहरूप्रति नकारात्मक भावको सृजना भई वन्यजन्तु मार्ने र यी वन्यजन्तुको संरक्षणका लागि स्थापना भएका सांगठनिक संरचनाको खारेजी समेतका मागहरू जनस्तरबाट व्यापक र बुलन्द रूपमा उठिरहेका छन् । यसको प्रमुख दोष संरक्षणार्थ स्थापना भएका कयौँ निकायहरूले लिनै पर्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० ले संरक्षित वन्यजन्तुको सिकार गर्न पूर्ण रूपमा प्रतिबन्धित गरेको छ तर सोही दफाको खण्ड (क) ले बौलाएको हात्ती, मानिस खान पल्किएको बाघ र नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अंगभंग भएका वन्यजन्तुहरूलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सक्ने व्यवस्था समेत गरेको छ । तर हामीले यी कयौँ यस्ता कानुनी प्रावधानहरूको बारेमा जनस्तरमा जनचेतना फैलाउन नसक्नुको कारण जनताले यस्ता वन्यजन्तुहरूको व्यवस्थापनको अन्तिम विकल्पको रूपमा मार्नु नै हो भन्ने भ्रममा परिरहेका छन् । यस्ता वन्यजन्तुहरूलाई मार्नुको साटो सुरक्षित तरिकाले पक्रेर विभिन्न प्रकारको वनस्पति उद्यान, पार्क, प्राणी उद्यान तथा प्रदर्शनी स्थलमा राखेर पनि राष्ट्रिय गौरवको रूपमा रहेको वन्यजन्तु बाघको उचित व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको जनस्तरमा हामीले अझै पनि जनचेतना फैलाउन सकेका छैनौँ । यस्ता पारिस्थितिकीय प्रणालीको सन्तुलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने वन्यजन्तुहरूको अन्तिम विकल्प मार्नु वा नष्ट गर्नु नै हो भन्ने धारणा हामी कयौँ संरक्षणकर्मीहरूमा पनि हावी भएको परिप्रेक्ष्यमा कुनै दिन हामीले हाम्रै कारण यस्ता वन्यजन्तुहरूलाई लोप हुने अवस्थामा पुर्‍याउन सक्छौँ भन्ने हेक्का पनि हामी संरक्षणकर्मीहरूले राख्नुपर्ने कुरामा हामी गम्भीर ध्यानाकर्षण हुनुपर्ने देखिएको छ ।

कर्णाली प्रदेशमा मानव र बाघबीचको द्वन्द्व बढ्नुको कारण
१. वासस्थानको संकुचन र विखण्डन (Habitat Fragmentation)
बाघलाई घुम्न र शिकार गर्न ठूलो क्षेत्र (Home Range) चाहिन्छ । तर बढ्दो वस्ती विस्तार, सडक निर्माण र पूर्वाधार विकासका कारण बाघको प्राकृतिक वासस्थान साँघुरिँदै गएको छ र यसले गर्दा बाघहरू आफ्नो नयाँ इलाकाको खोजीमा मानव बस्तीसम्म आइपुगिरहेका छन् ।
२. बाघको संख्यामा भएको वृद्धि
नेपालले सन् २००९ को तुलनामा बाघको संख्या करिब तेब्बर (३५५ वटा) बनाएको छ । निकुञ्जको क्षेत्रफल सीमित हुनु र बाघको संख्या बढ्नुले

लेखक बुढाथोकी कर्णाली प्रदेश वन निर्देशनालय, सुर्खेतमा रेञ्जर पदमा कार्यरत हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार