काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।
उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशतअर्थात् रु आठ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा २७ दशमलव ९१ प्रतिशतअर्थात् रु एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख बराबर खर्च भएको छ ।
यस आवमा रु १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको सरकारले रु पछिल्ला १० महिनामा वार्षिक लक्ष्यको ६६ दशमलव ६९ प्रतिशतअर्थात् रु नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख बराबर मात्रै असुली गरेको छ ।

