युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुर्खेतमा स्टार्टअप प्रदर्शनी

युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुर्खेतमा स्टार्टअप प्रदर्शनी

सुर्खेत । राष्ट्रिय युवा परिषदको आयोजना, वीरेन्द्रनगर नगरपालिकाको सहआयोजना तथा सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा आयोजित युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ।

सोमबार आयोजित प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गर्नुभएको थियो।
युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने, यस्ता व्यवसायका उपलब्धिलाई जनस्तरसम्म पुर्‍याउने तथा मुलुकको समृद्धिका लागि उद्यमशीलता र स्टार्टअप व्यवसायप्रति आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय युवा परिषदका उपसचिव कर्णबहादुर कँवरले जानकारी दिनुभयो।

प्रदर्शनीमा १५  जना उद्यमी तथा व्यवसायीले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन गरेका थिए। सहभागीमध्ये उत्कृष्ट उद्यमीलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ।

पुरस्कृत हुनेमा प्रथम कालिका अल्लो कपडा बुनाई तथा प्रशिक्षण केन्द्र, वीरेन्द्रनगर–७ की पुष्पकुमारी खड्का, द्वितीय समृद्धि कृषि तथा पशुपन्छी फर्म, वीरेन्द्रनगर–४ की गीता कुमारी खड्का बुढा, तृतीय प्रकृति रेसा उद्योग, वीरेन्द्रनगर–१२ की शान्ति सुनार, चौथो वायु कर्णाली एरोमा प्रालि, वीरेन्द्रनगर–३ की दीपिका बिष्ट तथा पाँचौँ पन्त कृषि तथा पशुपन्छी फर्म, वीरेन्द्रनगर–६ की रुबी आचार्य रहेका छन्।

प्रथम हुनेलाई ४० हजार, दोस्रो हुनेलाई २० हजार नगद पुरस्कार प्रदान गरिएको छ। यसैगरी तेस्रो, चौथो र पाँचौँ हुनेसहित सहभागी अन्य सबै उद्यमीलाई १०–१० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो। पुरस्कृत उद्यमीहरूलाई आगामी दिनमा केन्द्रमा आयोजना हुने स्टार्टअप व्यवसाय प्रदर्शनीमा सहभागिता जनाउने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रदर्शनीमार्फत युवाले सञ्चालन गरेका नवप्रवर्तनात्मक व्यवसाय तथा सूचना प्रविधिमा आधारित उद्यमहरूको प्रवर्द्धन, बजारीकरण र उद्यमशीलताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

फोटोहरु : 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार