सुर्खेत। कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ‘प्रदेश खानेपानी तथा सरसफाई विधेयक’को मस्यौदामाथि सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ ।
वीरेन्द्रनगरमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्था तथा खानेपानी एवं सरसफाइ क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
मन्त्रालयका निमित्त सचिव विनोदकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।
छलफलका क्रममा सहभागीहरूले कर्णाली प्रदेशको भौगोलिक विकटता, खानेपानी तथा सरसफाइ क्षेत्रमा रहेका व्यवहारिक चुनौती तथा स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले कार्यान्वयनयोग्य, व्यवहारिक र जनमैत्री ऐन निर्माणमा जोड दिँदै कर्णालीका नागरिकलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवामा सहज पहुँच सुनिश्चित हुने गरी विधेयकलाई थप परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा मन्त्री विजया बुढाले छलफलबाट प्राप्त राय, सुझाव र सल्लाहलाई विधेयकको मस्यौदामा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै मन्त्रालयले सरोकारवालाबाट प्राप्त सुझावका आधारमा विधेयकलाई थप परिष्कृत गरी प्रदेश सभामा पेश गर्ने जनाएको छ ।


