मुसिकोट । रुकुम पश्चिममा सर्पको टोकाईबाट चार जना घाईते हुनुभएको छ । पछिल्लो दुई दिनमा विभिन्न स्थानमा सर्पले टोक्दा चार जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आईतबार र सोमबार सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका विभिन्न स्थानमा चार जनालाई सर्पले टोकेको हो ।
सोमबार बिहान सानीभेरी गाउँपालिका –३ ज्यामिरेकी २५ वर्षीया अमृता बिष्टलाई घरको कोठामा सुतिरहेको अवस्थामा सर्पले टोकेको छ । बिष्टको दाहिने कानमा सर्पले टोकेपछि बिरामी हुनुभएकी उहाँलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिईएको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो ।
आईतबार साँझ सानीभेरी गाउँपालिका –२ गिठाकोटकी २२ वर्षीया कोपिला महतारालाई पनि घरनजिकै खेतबारीमा घाँस काट्ने क्रममा सर्पले टोकेको छ । बायाँ हातमा सर्पले टोकेपछि बिरामी हुनुभएकी उहाँलाई उपचारका लागि मेहेलकुना अस्पताल सुर्खेतमा लिईएको छ ।
सोमबार राती चौरजहारी नगरपालिका –८ चिप्लेटीकी २३ वर्षीया दिपा विकलाई घरनजिकै खेतबारीमा हिँड्ने क्रममा सर्पले दाहिने खुट्टामा टोकेको छ । उहाँको पनि मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
त्यसैगरी चौरजहारी नगरपालिका –१ लामिछाने गाउँकी २२ वर्षीया कमला बिकलाई पनि आईतबार बिहान सर्पले टोकेको थियो । माइतीघर सल्यानको कुमाख गाउँपालिका–६ गएको अवस्थामा घरनजिकै बारीमा घाँस काट्ने क्रममा सर्पले बायाँ खुट्टामा सर्पले टोकेको थियो । उहाँलाई पनि मेहेलकुना अस्पताल सुर्खेतमा उपचारका लागि लिईएको छ ।

