काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य मान बहादुर नेपालीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री (समावेशी दलित) पदमा उम्मेदवारी दिनुभएको छ ।
पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र समावेशी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको नेपालीले बताउनुभएको छ । उहाँले कांग्रेसलाई नयाँ पुस्तामैत्री बनाउँदै युवाको सक्रिय सहभागिता र अर्थपूर्ण प्रतिनिधित्वलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ।
आफ्नो उम्मेदवारीलाई पार्टीभित्रको समावेशी अभ्यासलाई थप बलियो बनाउने अवसरका रूपमा प्रस्तुत गर्दै नेपालीले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र विश्वासका लागि आग्रह गर्नुभएको छ ।
विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा
रुकुम पश्चिमबाट राष्ट्रिय राजनीतिमा स्थापित नेपालीले राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ। उहाँले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।
२०५२ सालमा नेपाल विद्यार्थी संघ रुकुमको सभापति बनेसँगै उहाँ सक्रिय राजनीतिमा अघि बढ्नुभयो । त्यसबेला रुकुम माओवादी सशस्त्र द्वन्द्वको प्रभावमा रहेको क्षेत्र थियो । प्रतिकूल परिस्थितिका बाबजुद नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक गतिविधिलाई निरन्तरता दिन उहाँ सक्रिय रहनुभयो ।
२०५४ सालमा नेपाल तरुण दल रुकुमको जिल्ला अध्यक्ष बन्नुभएका नेपालीले त्यसपछि पार्टी संगठन विस्तार र कार्यकर्ता परिचालनमा भूमिका निर्वाह गर्नुभयो । नेपाली कांग्रेसको १०औँ महाधिवेशनबाट जिल्ला सचिव बन्नुभएका उहाँले नेपाल तरुण दलको केन्द्रीय सदस्य र केन्द्रीय सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।
रुकुम कांग्रेसको नेतृत्वदेखि केन्द्रीय राजनीतिसम्म
नेपाली १२औँ महाधिवेशनबाट नेपाली कांग्रेस रुकुमको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो। दलित समुदायबाट जिल्ला सभापतिको जिम्मेवारीमा पुग्ने उहाँ पहिलो जिल्ला सभापति हुनुहुन्छ ।
जिल्ला नेतृत्वमा रहँदा उहाँले पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय तहमा कांग्रेसको उपस्थिति मजबुत बनाउन काम गर्नुभएको थियो । २०७१ सालमा सरकारले उहाँलाई राष्ट्रिय दलित आयोगको अध्यक्षको जिम्मेवारी दिएको थियो । आयोगको नेतृत्वमा रहँदा उहाँले दलित समुदायका अधिकार, समानता र सामाजिक न्यायसँग सम्बन्धित विषयमा काम गर्नुभयो ।
यसअघि २०५७ सालमा मध्यपश्चिम क्षेत्रबाट उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान विकास समितिको सदस्यका रूपमा समेत उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट मान बहादुर नेपाली केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो। केन्द्रीय सदस्यका रूपमा उहाँले पार्टीका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभयो ।
पार्टी संगठनसँगै दलित अधिकार, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएका नेपालीले राजनीतिलाई समाज परिवर्तन र सार्वजनिक सेवाको माध्यमका रूपमा लिनुपर्ने धारणा राख्दै आउनुभएको छ ।
तीन दशक लामो राजनीतिक यात्रा
२०५२ सालदेखि सक्रिय राजनीतिमा रहनुभएका नेपालीको राजनीतिक यात्रा विद्यार्थी संगठन, तरुण दल, जिल्ला पार्टी नेतृत्व, केन्द्रीय विभाग हुँदै केन्द्रीय सदस्य र राष्ट्रिय दलित आयोगको नेतृत्वसम्म पुगेको छ ।
यसपटक उहाँले कांग्रेसको सहमहामन्त्री ९समावेशी दलित पदमा उम्मेदवारी दिनुभएको हो । पार्टीभित्र दलित समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने, संगठनलाई समावेशी बनाउने र नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्ने विषयलाई उहाँले आफ्नो उम्मेदवारीसँग जोड्नुभएको छ ।
उहाँको उम्मेदवारीसँगै लामो राजनीतिक अनुभव, संगठनमा बिताएको समय र दलित समुदायको प्रतिनिधित्वको सवाल मुख्य चर्चाका विषय बनेका छन्।

