भाैतिक मन्त्रीद्वारा एकीकृत प्रशासनिक भवनको निरीक्षण, गुणस्तरमा सम्झौता नगर्न निर्देशन

भाैतिक मन्त्रीद्वारा एकीकृत प्रशासनिक भवनको निरीक्षण, गुणस्तरमा सम्झौता नगर्न निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारको ‘प्रदेश गौरवको आयोजना’ अन्तर्गत निर्माणाधीन एकीकृत प्रशासनिक भवनको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले स्थलगत निरीक्षण गर्नुभएको छ।

वीरेन्द्रनगर नगरपालिका–७ मा निर्माण भइरहेको उक्त भवनको बुधबार निरीक्षण गर्दै मन्त्री रोकाले आयोजनाको कार्यप्रगति, निर्माणको गुणस्तर, प्राविधिक पक्ष, प्रयोग हुने निर्माण सामग्री तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे जानकारी लिनुभएको हो।

निरीक्षणका क्रममा मन्त्री रोकाले कर्णाली प्रदेशको प्रशासनिक सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण आयोजना भएकाले सबै पक्षले जिम्मेवारी र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताउनुभयो। निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालयका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गरिने उहाँको भनाइ थियो।

उहाँले आधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण कार्यलाई योजनाबद्ध र गुणस्तरीय बनाउन निर्देशन दिँदै प्राविधिक पक्षमा विशेष ध्यान दिन तथा निर्माणको गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्न जोड दिनुभयो।

करिब ३ अर्ब २ करोड २९ लाख ५८ हजार २८० रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का कन्टेक–नव सिर्जनशील जेभीले पाएको छ। जेभीले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक महिनाअघिदेखि काम सुरु गरिसकेको छ।

पूर्वाधार विकास कार्यालय सुर्खेतमार्फत कार्यान्वयन भइरहेको आयोजनाको ठेक्का सम्झौता २०८३ असारमा भएको हो। प्रदेशका मन्त्रालय तथा मन्त्रीहरूको प्रशासनिक कामकारबाही एउटै परिसरबाट सञ्चालन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यो भवन सम्पन्न भएपछि प्रदेशको प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार