क्वारेन्टिनमै बाबुको किरिया

क्वारेन्टिनमै बाबुको किरिया

असार ५ बैतडी

जिल्लाको दोगडाकेदार गाउँपालिका-७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमै आफ्ना बुबाको किरियामा बसेका छन् ।

भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनअघि फर्केर भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा थिए । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि मृत्यु भएकाले क्वारेन्टिनमै किरिया शुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनलाई गाउँपालिकाको क्वारेन्टिनमा ल्याइएको थियो ।

घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।

लीलाधरको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका-७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बसेका थिए । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार