एकता पुरा नहुँदै विभाजनको सँघारमा नेकपा

सभामुखलाई थाहै नदिई संसद अभिवेसन अन्त्य, सरकार छाड्दै केही मन्त्री

एकता पुरा नहुँदै विभाजनको सँघारमा नेकपा

सभामुखलाई थाहै नदिई संसद अभिवेसन अन्त्य, सरकार छाड्दै केही मन्त्री

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको सँघारमा आइपुगेको छ। २०७५ जेठ ३ गते पार्टी एकीकरण घोषणासभामा प्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्ष केपी ओलीले नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रुपमा नबुझ्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका थिए। ‘हामी घोलिएका छौं,’ ओलीले भनेका थिए, ‘हिन्द महासागरमा गएर हामीले सेती, कोसी खोजेर पाइँदैन।’

तर पार्टी एकता भएको दुई वर्ष बित्दा पनि एकीकरण प्रक्रिया टुंगोमा पुगेको छैन नै, आन्तरिक विवाद तीव्र बनी पार्टी विभाजनको सँघारमा आइपुगेको छ। आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू अनुकूल निर्णय लिँदै अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्नसक्ने जनाएका छन्। उनले निकटका नेताहरूलाई त्यसका लागि तयार रहनसमेत संकेत गरेका छन्। यसबाट पनि नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको पुष्टि हुन्छ।

शीर्ष नेताहरूबीच सरकार र पार्टी सञ्चालनका विषयमा बढ्दै गएको असमझदारी विभाजनतर्फ उन्मुख भएको हो। प्रधानमन्त्री भएपछि ओलीमा अहंकार बढेको, पार्टीको निर्णय नमानेको, विधि र पद्धति अस्वीकार गरेको, सरकारप्रति जनतामा असन्तुष्टि बढेको, पार्टी र सरकारबीच समन्वय नभएको भन्दै अन्तरविरोध बढेपछि पार्टी एकता गम्भीर संकटमा पुगेको हो। पार्टीका शीर्ष नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर ओलीले पार्टी फुटाउने बाटो खुला गर्न लागेको आरोप लगाएका छन् भने ओली पक्षले सरकारलाई काम गर्न नदिएर दाहाल–नेपाल पार्टी फुटाउन लागेको आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको अभिव्यक्ति दिएपछि पार्टीका शीर्ष नेताहरुले ओलीको राजीनामा मागेका थिए। शीर्ष नेताहरुले ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएका र नेताहरुलाई भारत परस्तको आरोप लगाएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न दबाब बढाए। तर ओलीले दुवै पद नछाड्ने अडान दोहो-याएका छन्। यसले पार्टी विभाजनतिर उन्मुख भएको विश्लेषण गरिएको छ। पार्टीका महासचिव विष्णु पौडेल भने संकट गहिरिए पनि फुट्ने तहमा नपुगेको बताउँछन्। ‘तपाईंहरु ढुक्क हुनुस्, नेताहरुबीच असमझदारी भएको सत्य हो तर पार्टी फुट्न सम्भव छैन’, महासचिव पौडेलले भने।

आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू अनुकूल निर्णय लिँदै अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्नसक्ने जनाएका छन्।

‘स्थायी कमिटी बैठक स्थगित गर्नुअघि दाहालले पार्टी एकतामा गम्भीर संकट प¥यो, भोलि एकपटक एकताका लागि पहल गर्छु भन्ने अभिव्यक्ति दिएपछि बैठक हल नै स्तब्ध भयो’, स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले आवश्यकता परे आपूmहरु राजीनामा दिएर पार्टीको निर्णय लागु गर्न तयार रहेको समेत बताएका छन्।  ‘पार्टीले आवश्यक परेका बेला फिर्ता बोलाओस्, हामी राजीनामा दिएर आउँछौं’, मन्त्रीसमेत रहेका एक स्थायी समिति सदस्यले बैठकमा भनेका थिए।

ओली एक सातादेखि जारी स्थायी कमिटी बैठकलाई बेवास्ता गर्दै आएका छन्। तिक्तता बढ्दै जाँदा बिहीबारको बैठकमा ओली सहभागी भएनन्। ‘तपाईंहरु बाहिरै बैठक बसेर आउनुभएको छ, निर्णय गरेर जानुस्’ भन्ने कटाक्ष ओलीबाट आएपछि बैठक स्थगित भएको थियो। बुधबार साँझ ललितपुरमा दाहाल–नेपालले गरेको भेलालाई लक्षित गर्दै ओलीले कटाक्ष गरेका थिए।

बैठक अघि बढाउनेबारे दुई अध्यक्ष ओली र दाहालबीच दुई–दुईपटक छलफल भए पनि निष्कर्ष निस्केन। ‘ओली बैठकमा आउन नमानेपछि दाहाल आफैंले बैठक सञ्चालन गरेका थिए। प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बसाएपछि स्थायी कमिटीको बैठक स्थगित गरी दाहाल ओलीलाई भेट्न पुगे र त्यहाँबाट राष्ट्रपति कार्यालयमा गएका हुन्’, एक  स्थायी कमिटी सदस्यले भने। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठकै सल्लाहमा दाहाल राष्ट्रपतिलाई भेट्न पुगेका थिए। दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टा कुराकानी गरेका थिए। त्यस क्रममा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको बारे छलफल भएको थियो।

दाहालले राष्ट्रपतिको गरिमा कायम गर्न र विवादमा आउने कार्य नगर्न अनुरोध गरेका थिए। ‘तपाईंप्रति हाम्रो अगाध आस्था र विश्वास कायमै छ। पार्टीलाई आघात पुग्ने कुनै पनि काम नहोस् भन्ने आग्रह गरियो। दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको भन्ने हल्ला छ त्यसले राष्ट्रलाई हित गर्दैन, राष्ट्रलाई आघात पुग्ने काम नगर्नुहोला भन्ने आग्रह पनि गरेको छु’, राष्ट्रपतिलाई भेटेर आएपछि दाहालले बैठकलाई जानकारी गराएका थिए। ओलीले दल फुटाउने अध्यादेश फेरि ल्याउन लागेको आशंकामा दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्।

७ः३० बजेः दाहाल र ओली निकट नेताहरुबीच भेटघाट  

१० बजेः ओली–दाहाल भेटघाट

११ बजेः स्थायी कमिटी बैठक सुरु  

१०ः४५ बजेः राष्ट्रिपति–प्रधानमन्त्री भेट

१२ बजेः मन्त्रिपरिषद् बैठक, संसद् बैठक अन्त्य  

१ बजेः ओली–दाहाल कुराकानी  

१ः४० बजेः सचिवालय सदस्यबीच छलफल  

२ः४५बजेः राष्ट्रपति–दाहाल भेटघाट  

४ बजेः स्थायी कमिटी बैठक स्थगित 

बैठकका लागि बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका स्थायी समिति सदस्य र पार्टी सचिववालय सदस्यले अनौपचारिक छलफल गरेका थिए।  ‘यही परिस्थितिमा पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने चासोसहित बैठकले पुनः पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न, पार्टी र सरकारको आवश्यकतालाई पनि पूरा गर्ने गरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेका कारण शनिबार ११ बजेसम्म बैठक स्थगित गरिएको हो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। उनका अनुसार बिहान दुई अध्यक्षबीच भएको समझदारीसमेत कार्यान्वयन नभएपछि बैठक स्थगित गरेर थप संवादको पहल गरिएको हो। बैठकमा दाहालले ‘स्थायी कमिटीको बैठक नै पार्टी फुटको प्लेटफर्म बन्न सक्ने अवस्था आउन सक्ने अवस्थालाई ध्यानमा राखौं भोलि एक दिन बैठक स्थगित गरौं’ भनेका थिए।

यसअघि बिहान ७ः३० बजे ओली पक्षका नेताहरु दाहाललाई भेट्न खुमलटार पुगेका थिए। उनीहरुसँगको छलफलमा दाहालले ओली सच्चिनुपर्ने, प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने, पार्टीमा आत्मालोचना गर्नुपर्ने बताएका थिए। यो सुनेर ईश्वर पोखरेल, सुवास नेम्बाङ, शंकर पोखरेललगायतका नेता निराश भई फर्केका थिए। त्यसपछि ओलीलाई भेटेर उनीहरुले दाहाल आफ्नो अडानमा कायमै रहेको जानकारी दिएका थिए।

बिहान ११ बजे स्थायी समिति बैठक सुरु भएलगत्तै प्रधानमन्त्रीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् बैठकका लागि बोलाएका थिए। त्यसपछि स्थायी समिति बैठकमा केही बेर होहल्लासमेत भएको थियो। त्यसलगत्तै स्थगित बैठक ३ घण्टापछि सुरु भएर दुई दिनका लागि स्थगित भएको थियो। बैठक स्थगित हुनुअघि दाहालले सचिवालयका अन्य सदस्यसँग सामान्य छलफल गरेका थिए।

रातारात दौडधुप  

बुधबार राति दाहाल–नेपाल समूहले ललितपुरमा भेला गरेपछि ओली पक्षधर नेताहरुले पनि रातभर दौडधुप गरेका थिए। उनीहरु बालुवाटारमै बसेर थप रणनीतिबारे छलफल गरेका थिए। बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु  रिमाल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मालगायतका नेताहरु बसेर आवश्यक छलफल गरेको स्रोतले जनाएको छ। उनीहरुले आवश्यकताको आधारमा दुवै पक्ष लचिलो भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका थिए। ओलीले सरकारमा सहभागी केही मन्त्रीसँग राति पनि छलफल गरेकाेे खबर आजकाे नागरिक दैनिकमा छापिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार