पहिरोले गण्डकी प्रदेशमा ११ को मृत्यु, १२ बेपत्ता

पहिरोले गण्डकी प्रदेशमा ११ को मृत्यु, १२ बेपत्ता

कास्की। निरन्तर वर्षाले पहिरो जाँदा  गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्।

अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा सात, लमजुङमा तीन र म्याग्दीमा एक जना गरी ११ जनाको मृत्यु भएका छन्। पहिरोमा परी १६ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार बाढीपहिरोका कारण म्याग्दी जिल्लामा १२ जना बेपत्ता भएका छन्।

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा घरमाथिबाट आएको पहिरोले घरपुरिँदा घरधनी ५० वर्षीय टङ्कबहादुर थापा, निजकी श्रीमती ४५ वर्षीया सोममाया थापा, तनहुँ दमौलीका आठ वर्षीय शीतल श्रेष्ठ, ११ वर्षीया इशिका थापामगर र ६ वर्षीय सुवान थापाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन्।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटमा पहिरोले घर पुरिँदा ७० वर्षीय हिमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा घर पुर्दा ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–६ स्थित रापुखोलामा आएको बाढीले बगाएर ठाँडाखानीका ५० वर्षीय नलिमान छन्त्यालको मृत्यु भएको छ भने धवलागिरी गाउँपालिका–६ का चार घर पुरिँदा १० जना तथा मालिका गाउँपालिका–७ निमदुलेका ४० वर्षीया विष्णु पौडेल र चार वर्षीया छोरी ईशा पौडेल बेपत्ता भएका छन् ।

प्रहरी नायब निरीक्षक रेग्मीका अनुसार लमजुङ जिल्लाको बेँसीशहर नगरापलिका–७ सातबिसेस्थित पहिरोले घर पुरिँदा घरधनी ३२ वर्षीय दीपक तामाङ, निजकी श्रीमती २६ वर्षीय बिमाया तामाङ र ९ वर्षीय छोरा छैवाङ तामाङको मृत्यु भएको हो। सोही पहिरोका घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पहिरोमा परी विभिन्न जिल्लामा बङ्गुर, बाख्रा, भैँसी, गोरुलगायतका २३८ भन्दा बढी चौपाया मरेको प्रहरीले जनाएको छ। वर्षाका कारण अधिकांश सडक अवरुद्ध हुनुका साथै किसानले खेतमा लगाइएको धानबालीमा समेत ठूलो क्षति पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार