टिस्टुङ । आर्थिक वर्ष २०७६/७७ मा मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
नगरका घर्तीखोला, फाँटबजार, थाना बजार, ओखर बजार र बज्रबाराही क्षेत्रका ३०६ कृषकले पालेको गाईभैंसीबाट दुई लाख ९३ हजार ७२ लिटर दूध उत्पादन भएको थाहा नगर पशु सेवा शाखामा प्रमुख राघवेन्द्र मिश्रले बताए ।
बेमौसमी तरकारी खेतीका लागि देशमै ख्याति कमाएको थाहा नगरपालिकामा केही वर्षदेखि दूधका लागि व्यावसायिक पशुपालनमा जोड दिन थालिएको छ । दूध उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले ३०६ कृषकलाई रु चार लाख ९५ हजार अनुदानसमेत प्रदान गरेको छ ।
कृषकले बिक्री गरेको दूध परिमाणका आधारमा प्रतिलिटर रु एकदेखि तीन र पैसा २५ सम्म अनुदान उपलब्ध गराएको पशु सेवा शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए । नगरपालिकाले नगरमा सबैभन्दा बढी दूध उत्पादन गर्ने किसानलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा थाहा–३ का युवराज बर्तौला तथा थाहा–६ का यशोदा अधिकारी र ओमकुमार सुवेदी रहेका छन् ।
त्यस्तै नगरपालिकाले आफ्नो सेवा क्षेत्रबाट सबैभन्दा बढी दूध सङ्कलन गर्ने नन्दीकेश्वर डेरीलाई नगदसहित सम्मान गरेको छ ।