काँग्रेसको जागरण अभियान सम्पन्न

काँग्रेसको जागरण अभियान सम्पन्न

काठमाडौँ, असोज ८ गते । नेपाली काँग्रेसले सुरु गरेको दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’अन्तर्गत मङ्गलबार देशका सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ । संस्थापक नेता बीपी कोइरालाको १०६आँैं जन्म जयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभरि एकैपटक सुरु गरिएको अभियान मङ्गलबार सकिएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गलबार सबै जिल्लामा विरोध प्रदर्शन गरिएको बताउनुभयो । जागरण अभियानकै क्रममा काठमाडौँ काँग्रेसले रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु गरेको विरोध ¥याली सहरका विभिन्न भागको परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
¥यालीमा सहभागीहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर, बढ्दो महँगी नियन्त्रण गर, महिला हिंसा–हत्या र बलात्कारीलाई कारबारी गर, अलोकतान्त्रिक विधेयकहरू खारेज गर’ जस्ता नारा लगाएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै काँग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले सरकारले आफ्ना कामकारबाही नसच्चाए काँग्रेसले सडकमा टायर पनि नबाली र रेलिङ पनि नभाँची सदनदेखि सडकसम्म उत्रने चेतावनी दिनुभयो । उहाँले विद्यार्थीबाट असुलेको मोटो रकम ठगी गर्ने मेडिकल माफियाहरूलाई कारबाही नगरेर सरकारले संरक्षण गरेको आरोप लगाउनुभयो ।
प्रतिनिधिसभाका सांसद भीमसेनदास प्रधानले दुई तिहाइ बहुमतको सरकारले काम गर्न नसक्दा जनतामा गणतन्त्र र संविधानप्रति वितृष्ण पैदा भएको चर्चा गर्दै गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षा गर्न काँग्रेसले कुनै कसर बाँकी राख्दैन भन्नुभयो । अन्य वक्ताहरूले काण्डैकाण्डमा सरकार डुबेको र जनतालाई आशावादी बनाउन नसकेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई बोलाएर काठमाडौंँमा छलफल गर्नुको कुनै तुक नभएको बताउनुभयो ।
नेपाली काँग्रेसका काठमाडौँ सभापति सबुज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता ध्यानगोविन्द रञ्जित र प्रदेश ३ का सभा सदस्य राधा घलेले देशमा महँगी र भ्रष्टाचार बढेको भन्दै सरकारको आलोचना गर्नुभयो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार ५ बजेसम्म ७० जिल्लामा कार्यक्रम सम्पन्न भएको विवरण प्राप्त भएको बताउनुभयो ।
उहाँले जागरण अभियानले काँग्रेसको सङ्गठनलाई चलायमान बनाएको, काँग्रेस एवं जनताबीचको जनसम्पर्क बढेको र विरोध ¥यालीमा जनसहभागिता बढेको जानकारी दिनुभयो । यसअघि काँग्रेसले पहिलो चरणको जागरण अभियान वैशाख २५ गते सुरु गरी जेठ २५ सम्म सञ्चालन गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार