सुदर्शन सिग्देल/लालीकाँडा (दैलेख)
अठारौंं कार्यकालसम्म एउटा विद्यालयको व्यवस्थापन समितिमा एकपल्ट मात्र चुनाव भएको थियो भन्दा अनौठो लाग्न सक्छ । हो, यस्तै अनौठोे भएको छ, दैलेख जिल्लाको गुराँस गाउँपालिका–७ स्थित शान्ति मावि लालीकाँडामा । यो स्कूलको १७ औं विव्यसको अवधि भर्खरै सकियो र १८ औं नयाँ समिति गठन प्रक्रिया पनि सर्वसम्मतिमै पूरा भयो । ‘अहिलेसम्म यो विद्यालयमा एकपल्ट मात्र चुनाव भयो, नत्र सबैमा सर्वसम्मतिले समिति गठन हुँदै आएको छ,’ प्रधानाध्यापक खगेन्द्रकुमार विसी भन्नुहुन्छ, ‘नयाँ समिति गठन पनि सर्वसहमतिमै हुनुले हामी निकै खुशी छौं ।’
![](https://i0.wp.com/aajakoshiksha.com/source/Shanti%20mav%202.jpg?resize=367%2C275)
दैलेखको दक्षिण भेकमा रहेको गुराँस गाउँपालिकाका उत्कृष्ट विद्यालयमध्ये शान्ति मावि पनि एक हो । राम्रो पठनपाठन, शिक्षकहरुको सिकाउने प्रतिबद्धता, अभिभावकसँगको घनिष्ठ सम्बन्ध, स्कूलप्रति समुदायको चासो, विद्यार्थीको सिकाइ उपलब्धि, उनीहरुको अतिरिक्त क्रियाकलापमा सक्रियता आदिमा यो विद्यालय अग्रपंक्तिमा देखिन्छ । यसो हुनुमा सेवाक्षेत्रका समुदायको एकतापूर्ण सहयोग र शिक्षक–विद्यार्थीको प्रतिबद्धता नै मुख्य हो । हुनपनि समुदायकै बलमा अहिले रहेको विद्यालय प्राङ्गण खारिएको थियो । दधे बुढा ७६ वर्षको हुनुहुन्छ । विद्यालयलाई गाउँलेहरुले कसरी सहयोग गरेका थिए भन्ने सम्झना उहाँसित ताजै छ । भन्नुहुन्छ, ‘जुम्लामा पैदलै पुग्नुपर्थ्यो । त्यहाँ कपडा र खाद्यान्न बेचेर ल्याएको पैसा चन्दाका रुपमा दिएर विद्यालय सञ्चालन गर्न मद्दत गरेको छु । मेरा छोराछोरी यहाँ पढ्न पाए, म ज्यादै खुशी छु ।’
सर्वसहमतिका कारण विद्यालयमा कुनै राजनीति हुने गर्दैन । अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीका भातृ संस्थाले विद्यालयमा कमिटि बनाएका छैनन् । न त मदिरा खाएर विद्यालय वरिपरि कसैले होहल्ला नै गर्न पाउँछन् । किनकि, विव्यसकै निर्णयमा यस विद्यालयलाई ‘शान्तिक्षेत्र’ घोषणा गरिसकिएको छ र मदिरा निषेध पनि ।
राम्रो पढाइ भएकै कारण साढे दुई घण्टा टाढा मर्खेदेखि ओखरेनी, झोझ हुँदै यो विद्यालय विद्यार्थी आइपुग्छन् । तिनका लागि अब छात्रबास चाहिएको छ । प्रदेश सरकारबाट परेको ६ कोठे भवन निर्माण गरी त्यसलाई छात्राबासका रुपमा स्थापना गर्ने योजना नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीले सुनाउनुभयो ।
‘अहिलेसम्म यो विद्यालयमा एकपल्ट मात्र चुनाव भयो, नत्र सबैमा सर्वसम्मतिले समिति गठन हुँदै आएको छ । नयाँ समिति गठन पनि सर्वसहमतिमै हुनुले हामी निकै खुशी छौं ।’
–खगेन्द्रकुमार विसी, प्रधानाध्यापक, शान्ति मावि लालीकाँडा, दैलेख
‘अब विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ । हामी यो विद्यालयलाई साँच्चैको नमूना बनाउनेछौं । नर्म्स अनुसार शिक्षकलाई नियमित बनाउनेदेखि शैक्षिक गुणस्तरका निम्ति सक्रिय हुनेछौं ।’
–हुकुमबहादुर खत्री, नवनिर्वाचित विव्यस अध्यक्ष, शान्ति मावि लालीकाँडा, दैलेख