प्रेस स्वतन्त्रताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक तीनै तहका सरकारको निशानामा प्रेस

प्रेस स्वतन्त्रताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक तीनै तहका सरकारको निशानामा प्रेस

काठमाडौं १५ पुस
नेपाल पत्रकार महासंघले सन् २०१९ मा प्रेस स्वतन्त्रताको अवस्थाबारे तयार गरिएको प्रतिवेदन आज सार्वजनिक गरेको छ ।

सोहि प्रतिवेदन अनुसार नेपाली पत्रकारिताका लागि यो वर्ष सुखद रहेन । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाईमा अभिलेख भएअनुसार सन् २०१९ मा प्रेस स्वतन्त्रता हनन् का ५० घटना भएका छन् । जसमा ७६ जना पत्रकार र एक सञ्चार संस्था पीडित भएका छन् ।

जसअन्तर्गत मकवानपुरका पत्रकार मनोहर ढकाललको हत्या भएको छ । पत्रकार आक्रमणका १५ वटा घटनामा १७ जना पत्रकार तथा एक सञ्चारसंस्था पीडित भएका छन् भने ११ जना पत्रकारमाथि दुर्व्यवहार भएको छ ।

१० वटा धम्कीका घटना भए भने सातजना पत्रकारलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । यस्तै अल्पकालीन पत्रकार पक्राउका तीनवटा घटना भएकोमा १९ जना पत्रकार पीडित भए । पत्रकारको पेसागत असुरक्षाको एक, पेसाबाट विस्थापन एक र समाचार संकलनमा अवरोधको एउटा घटना भएको छ ।

सन् २०१८ मा प्रेस स्वतन्त्रता हनन्का ५८ वटा घटना भएका थिए । यस वर्ष स्वतन्त्रता हनन्का घटनामा कमी आए पनि प्रेस स्वतन्त्रता उपभोगको दृष्टिले सुखद् रहेन ।

राजनीतिक परिवर्तनपछि पनि राज्य र गैरराज्य पक्षबाट पत्रकारमाथि दुर्व्यवहार गर्ने, धम्की दिने र हत्या गर्ने प्रवृत्ति भने अझै रोकिएको छैन ।

पत्रकारले निर्वाध र स्वतन्त्ररूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने वातावरण नबनेको महासंघको ठहर छ । समाचारको स्रोतसँग सम्पर्क रहेको आधारमा पत्रकारलाई पक्राउ गरी मुद्दा चलाउने प्रवृत्ति यस वर्ष बढेको छ । पत्रकारमाथि घटेका यी घटनाले सरकार प्रेसप्रति अनुदार रहेको स्पष्ट हुन्छ ।

मुलुकमा संघीयता आएसँगै प्रेस स्वतन्त्रताको स्थिति थप बलियो हुनुको साटो तीनै तहका सरकारबाट कानुन बनाउने काम भएसँगै प्रेस स्वतन्त्रतालई संकुचन पार्ने कानुन बन्ने शंका बढेको छ ।

कतिपय प्रदेश सरकारले बनाएका मिडियासम्बन्धी कानुन प्रेस स्वतन्त्रतालाई संकुचन गर्नेगरी बनेका कारण महासंघको आपत्तिपछि संशोधनका क्रममा छन् । महासंघ राज्यका तीनै तहबाट बन्ने कानुनहरू मिडियामैत्री बनाउन महासंघले माग गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार