एकातिर खुशी अर्कोतिर दुखी : भावुक विदाई लालसिंह सर !

एकातिर खुशी अर्कोतिर दुखी : भावुक विदाई लालसिंह सर !

बृत्तिपथको सवालमा उत्प्रेरणाहीन¸ सेवा अवधिमा २० बर्षसम्म पनि कुनै बढुवा र थप जिम्मेवारीको अवसर प्राप्त नहुने शिक्षा सेवाको जागिरी छोडी प्रशासन सेवातर्फ खुला प्रतिस्पर्धामार्फत सफल भएकोमा खुशी लागेको छ । प्रशासन सेवाको दायरा फराकिलो छ । राज्यका नीति निर्माताहरु सबै ठाउँमा प्रशासन सेवाकै वर्चश्व रहेको अवस्थामा प्रशासन सेवामा प्रवेश गर्नु अत्यन्तै हर्ष र खुशीको क्षण हो । त्यसमा पनि संघीय सरकार मातहत जिल्ला स्तरमा धेरै संघीय कार्यालयहरुमा नेपाल प्रशासन सेवा शाखा अधिकृतको पद रिक्त रहेको तथा स्थानीय तह गाउंपालिकातिर पनि उक्त पद रिक्त रहेको अवस्थामा जिल्लामै हाम्रो भेट त फेरि पनि हुने नै छ । यस अर्थमा म धेरै खुशी छु । एकजना अति घनिष्ट र विश्वासिलो मित्र¸ सहकर्मी तथा भतिज लालसिंह खड्का बृत्तीपथको सन्दर्भमा उच्चाटलाग्दो शिक्षा सेवाबाट मुक्त भई विशाल बृत्तिपथको सम्भावना रहेको प्रशासन सेवा तिर प्रवेश गरेकोमा फेरि पनि हार्दिक बधाई तथा शुभकामना ।

 

तर आजदेखि म शिक्षा शाखामा एक्लो कर्मचारी भएको छु । शिक्षामा तनावपुर्ण काम र अनपेक्षित दवावहरु झेल्नु पर्दा संधै साथ दिने मित्रसंग विछोड हुन पुग्यो । संघीयताको शुरुवाती चरणदेखि नै अस्तव्यस्त र करिब करिब ध्वस्त भइहेको शिक्षा प्रशासनको अस्तित्वलाई जोगाउनको लागि साथमा साथ¸ काँधमा काँध थाप्ने एउटा बलियो खम्बासंग आजबाट सहकर्मी हुने अवसर टुटयो । व्यक्तिगत रुपमा त हामी संधै भेट हुने नै छौँ । सामाजिक संजाल र भौतिक रुपमा पनि सम्पर्क सहकार्य भइ नै रहने छ । तर अफिसियल रुपमा एकजना विश्वासिलो¸ भरपर्दो र अति मिलनसार सहकर्मीलाई विदा गर्नुपर्यो । स्थानीय तहमा शिक्षा प्रशासन संचालन गर्दा समर्थक भन्दा विपक्षी बढी हुन्छन् । शिक्षा सेवा आफैमा आलोचनात्मक क्षेत्र हो । ज्ञान आर्जनको क्षेत्र अरु सेवा समुहझैँ सत्ता तावेदारी र चाकडीमा मात्र हरहमेशा लिप्त र लिन हुनै सक्दैन । तर सत्ताको राप र तापबाट सदासर्वदा अप्रभावित र अछुतो अलग पनि रहिरहन सक्दैन ।

 

एकातिर बुद्दिविवेकको क्षेत्र शिक्षा प्रशासन अर्कातिर अथाह र अनवर चाकडी¸ स्तुती चाहने नेपाली शासक प्रशासकको मनोकांक्षा । अनौठो खालको पेलाहामा शिक्षा सेवा छ । सत्ताको अन्धभक्त तावेदारी गरौँ । ज्ञान र विवेकको बिर्को बन्द हुने सम्भावना । ज्ञान र विवेकको स्वतन्त्र बिर्को खोलौँ सत्ता र शक्तिको आँखाको कसिङ्गर हुने भय । एकातिर शक्ति¸ सत्ता¸ चाकडी¸ स्तुती र अवसर अर्कोतिर विवेक¸ स्वतन्त्रता¸ संघर्ष र तनाव ।  दोहोरो र दुइविपरार्थी पक्षको वीचमा शिक्षा प्रशासन । कतै विव्यसमा दलको चाहेको मान्छे परेन तनावमा शिक्षा सेवा । कतै अस्थायी करार जनशक्ति व्यवस्थापनमा दलले सोँचेको मान्छे आएन तनावमा शिक्षा सेवा । स्रोत प्रवाहमा सबैभन्दा पारदर्शिता कायम गर्ने प्रयास । स्रोत प्रवाहका सबै विवरणहरु बार्षिक रुपमा पुस्तककै रुपमा प्रकाशन र वितरण तर पनि तनावमा शिक्षा सेवा । पालिकाहरुले २०७४ देखि हालसम्म कुनकुन शिर्षकमा के कति रकमकलम खर्च गरे ? करोडौँ करोडको बजेटरी गैर बजेटरी¸ योजना कार्यक्रम समावेश गरी गरिएको खर्च¸ कुनै योजना कार्यक्रम नै स्वीकृत नगरी गरिएको कार्यक्रम¸ बजेट र खर्चको न कुनै प्रकाशन¸ प्रशारण छ न अभिलेखीकरण छ न सार्वजनिक सुनुवाइ छ न बार्षिक समिक्षा छ न तेस्रो पक्षबाट अनुगमन न सामाजिक परिक्षण नै । कुनै विवरण नै नराखेकाहरु व्यवस्थित पारदर्शी ठहरिने । व्यस्थित अभिलेखीकरण¸ डकुमेन्टेशन गरी प्रकाशन¸ प्रशारण गर्न प्रयास गर्नेहरुलाई उल्टै सत्तोसराप । जोख्ने तुलो र तराजु नै एकापट्टी ढल्केपछि कसको के लाग्छ र । कुनै जमानाका शाषक प्रशासकले पनि सही मुल्याङ्कन गर्न नसक्ने । अधिकार र जिम्मेवारी अन्तै तनाव व्यवस्थापनको जिम्मा मात्र खेपिरहेको शिक्षा प्रशासन ।

 

संघ सरकारले डामेको शिक्षा र शिक्षा सेवा । स्थानीय तहले झन् हरहमेशा आइसोलेटमा पारेको शिक्षा सेवाको जागिरीमा अब उप्रान्त थुप्रै प्रसंगहरुमा केही समय एक्लै संघर्ष गर्नुपर्ने अवस्था आएको छ । मुसिकोट नगरपालिका अन्तर्गत शिक्षा शाखामा पहिला दुइजना आरपी सरहरु हुनुहुन्थ्यो घनश्याम बुढाथोकी र चिन्ताराम शर्मा । उहाँहरु पनि गिरीराजमणीज्युको पालामा आआफ्नो विद्यालयमा फिर्ता जानु भो । एकजना सर त सेवाबाटै अनिवार्य अवकाश हुनुभो । उस्तैतस्तैको मान्ठलाई स्थानीय तह शिक्षा सेवामा टिक्नको लागि गाह्रो छ । म स्वयमलाई पनि तीन महिनासम्म एउटा कार्यकक्ष¸ कुर्सी टेबुल र कोठा समेत दिइएन । लामो संघर्षपछि आफ्नै व्यक्तिगत र अति सहयोगी मित्र यामबहादुर शाहीको पहलमा बल्लतल्ल कोठा बनाइयो । कोठा तथा शाखा व्यवस्थापनको सन्दर्भमा कुरा गर्दा अहिले स्वच्छ र शान्त वातावरणमा नगरपालिका नजिकै हाम्रो शाखा छ । त्यहीबाट हाम्रो कार्यसम्पादन भइरहेको छ । अब नगरपालिकाकै कम्पाउन्ड भित्र बनेको घरजस्तो न गोठजस्तो¸ न ढुङ्गाको¸ न काठको¸ न सिमेन्टको न माटाको अर्कै के जाति प्लाष्टिकजस्तो अत्याधुनिक टहरोमा सार्ने कुरा हुंदैछ । बनाउंदा बनाउंदा त्यो गाइगोठभन्दा लेन्टर¸ ढलानवाला दुइ¸ तीन तले पक्की घर नै हुन्थ्यो होला । सबै शाखा¸ फाँट एकै स्थानमा व्यस्थापन र सेवा प्रवाह सहजताको लागि । अब हामी शिक्षाका कर्मचारी त नगरपालिकाका बाहुरे पर्यौँ । बाहुरेलाई के थाहा ? मालिकहरुलाई थाहा होला । के उद्देश्यले बनाइएको हो ? कार्यालय व्यवस्थापन र लेआउट डिजाइनमा कस्तोखाली बैज्ञानिक व्यवस्थापनको दिर्घकालीन र दिंगो सोँचका साथ संरचनाहरु निर्माण भइहेका हुन् ? अंझ भित्र हेर्नु भो भने छक्क र फेन्ट खानु हुन्छ तमाइहरु । अचम्म खालको पार्टेशन छ भित्रपट्टी । औँलाले ठेलेर ढाल्न सकिने छेकावट भित्र छेकावट छन् त्यो अत्याधुनिक टहरो भित्र । कोठा भन्दा कोलिया हो कि बरान्डा हो कि प्यासेज हो । त्यो झन् ठुलो ।

 

मुसिकोट नगरपालिकाको प्रशासनिक भवन वातावरणीय रुपमा अत्यन्तै खराब स्थानमा छ । बायु प्रदुषणको मात्रा मापन गर्ने हो भने शायद् जिल्लाकै नम्वर वान बायु प्रदुषित सरकारी कार्यालय होला । राप्ती राजमार्गले तीन दिशातिर फनक्कै घुमेको । नगरपालिकाको मोडमा ट्रकले फालेको कालो धुँवाको दिर्घकालीन प्रभावले दुई चार बर्ष पहिल्यै स्वर्गलोक या मर्त्यलोकतिरको हवाइ टिकट मिल्नसक्छ । दिनभरीको धुलोले अफिसियल सरसामान¸ ल्यापटप¸ प्रिन्टरहरु छ्याप्पै धुलोले लपेटलापेट । मान्छेको ज्यान पनि धुलोमय । कुर्ची¸ टेबुल¸ दराज¸ सोफा पनि धुलो नै धुलोमय । कार्यालय पनि आफ्नो स्वामित्वमा आयो कि आएन मलाई त जानकारी छैन । आफ्नै कार्यालय हो हुन त । तर स्वामित्व कसको नाउंमा छ सोधखोज गरिएको छैन । अनावश्यक कुरा सोधखोज चियोचर्चो गर्ने चलन छैन । केही प्रकिया अगाडि बढेकोसम्म जानकारी थियो । टुङ्गियो कि विचमै अड्कियो जानकारी भएन । तर पनि संरचनाहरु धमाधम बनिरहेका छन् । अर्काकै स्वामित्वमा रहेको स्थानमा खर्चिला संरचनाहरु बन्नु उचित हो वा होइन निर्णय गर्नेहरुलाई थाहा होला । वा स्वामित्व हस्तान्तरण भइसक्यो पनि होला । मलाई जानकारी नभएर हुनसक्छ । जे होस भौतिक संरचना निर्माण पुर्व जग्गा जमिन आफ्नो नाममा नामसारी¸ हस्तान्तरण गर्नु उचित र सान्दर्भिक हुन्छ । हस्तान्तरण नै नभए पनि सरकारी जग्गामा भाडा वा लिज त्यस्तै कुनै प्रावधान त होला । सरकारी कामकाज जोरजवर्जस्ती¸ हचुवा र मुखे सहमतीको आधारमा चलेको होइन होला । लेख्दालेख्दै था नभएको प्रसंग आयो । यो प्रसंग यही स्थगित स्टप ।

 

शिक्षा सेवाको जागिरीको अप्रत्यक्ष र घुमाउरो सम्बन्ध अभिभावक¸ विद्यार्थी र शिक्षासम्वद्द सरोकारवालाहरुसंग रहे पनि हाम्रो प्रत्यक्ष सम्पर्क शिक्षक समुदायप्रति हुनेगर्छ । हाम्रा प्राइमरी सेवाग्राही शिक्षक समुदाय हुनुनुहन्छ । शिक्षक समुदाय आफैमा सचेत र समाजको अग्रणी भाग भएकोले शिक्षासम्बन्धी कामकाजमा हाम्रो बौद्दिक र प्राज्ञिक सहकार्य हुन्छ । प्राज्ञिक सम्बन्धमा बहस¸ छलफल¸ अन्तरक्रिया भइ नै रहन्छ । रहनुपर्छ । बौद्दिक सम्बन्ध एकहोरो हुंदैन दोहोरा¸ अन्तरक्रियामुखी र स्वभावत: आलोचनात्मक हुन्छ । यहाँ पनि हामीलाई विद्यालय क्याम्पसमा पढाएका आदरणीय गुरुहरु हुनुहुन्छ । उहाँहरु हाम्रो लागि सदासर्वदा आदरणीय र सम्मानित हुनुहुन्छ । हामी भर्खर जन्मिदादेखि जागिरीमा आवद्द धेरै अनुभवी र सिनियर आदरणीय शिक्षक सरहरु पनि हुनुहुन्छ । कहिलेकाही सरहरुसंग इस्युवाइज जीवन्त बहस पनि हुन्छ । विषयबस्तुमा टिकाटिप्पणी पनि हुन्छ । मैत्रीपुर्ण रुपमा वादविवाद¸ प्रतिवाद र संवाद पनि हुन्छ । आलोचनात्मक सहकार्य पनि हुन्छ । संगठनात्मक र संस्थागत रुपमा स्वस्थ बहस भइनै रहन्छ । तर मुलत: शिक्षक समुदाय र मुसिकोट नगरपालिका शिक्षा शाखाको सम्बन्ध आत्मिम¸ मैत्रीपुर्ण र प्रगाढ रहेको छ । सेवाग्राही प्रति उत्तरदायी हुने नयाँ सार्वजनिक व्यवस्थापन (NPM) अवधारणा र सिद्धान्तको कोणबाट हेर्दा हामी शिक्षा सेवाका कर्मचारीहरु शिक्षक समुदायप्रति उत्तरदायी छौँ । केही अपवाद बाहेक शिक्षक समुदायलाई नबिझाएर¸ नचिढ्याएर¸ उहाँहरुकै सहमती¸ छलफलबाट नगर शिक्षाको कामकाजलाई संचालन गरिरहेका छौँ । यस कार्यमा मेरा सहकर्मी मित्र लालसिंह सरको अहम् भुमिका थियो । कहिलेकाही म स्वभावत अली तात्तिए पनि स्थितिलाई सहज र कुलिङ्ग बनाउने कार्यमा उहाँको पनि ठुलो भुमिका रहन्थ्यो । हुनत् संघियता पछि कर्मचारीको उत्तरदायित्व को प्रति कसरी हुने हो कुनै क्लियर छैन । झन् स्थानीय तह शिक्षा प्रशासनमा त्यसको कुनै गुन्जायस नै छैन । तर पनि हाम्रो आफ्नै विवेकले भ्याएसम्म हाम्रो उत्तरदायित्व शिक्षक प्रति¸ शिक्षक विद्यार्थी प्रति¸ विद्यार्थी आफ्नो पठनपाठन प्रति उत्तरदायी हुनुपर्छ भन्ने हो । त्यसबाहेक स्थानीय सरकारका अरु जनप्रतिनिधिमुलक संरचना र प्रशासनिक संरचनातिर पनि कानुनी¸ नीतिगत र संरचनात्मक उत्तरदायित्व त भइ नै हाल्यो । सारभुत रुपमा उत्तरदायी हुनुपर्ने शिक्षक समुदाय हाम्रो सेवा प्रवाहप्रति चित्तबुझ्दो अवस्थामा रहेको हामीले अनुमान गरेका छौँ । अन्यत्र स्थानीयतिर जत्तिकै लफाडा यता भएको छैन । हाम्रो आत्म मुल्याङ्कन र अन्तरक्रियाको आधारमा भन्दा सामान्य रुपमा यहाँको शैक्षिक प्रशासन संचालन भइरहेको अवस्था छ ।

 

शिक्षा सेवामा कार्यरत सहकर्मी मित्रको विदाइको क्षणमा यति कुरा मनमा आए । लेखियो । यो लेखनीमा उहाँको कुनै सहमती लिइएको होइन । आफ्नो अनुभुतीका संस्मरणात्मक कुरा यहाँ उल्लेख गरेको हुँ । र आजदेखि उहाँको जागिरे जीवनमा फरक सन्दर्भहरु जोडिनेछन् । फरक खालका अनुभुती हुनेछन् । यति धेरै शिक्षा प्रशासनका सन्दर्भहरुसंग उहाँ घुलमिल हुने अवस्था नरहन पनि सक्छ । धेरै लामो समय सहकार्य भयो । साविक जिल्ला शिक्षा कार्यालय हुंदैदेखि स्थानीयतिर पनि संगसंगै बसियो । उहाँको कार्यालयमा अध्ययनको वातावरण निर्माणमा समेत एकान्त स्थानमा कार्यालय व्यवस्थापनले सहयोग मिलेको छ ।

 

उहाँको सफलतामा म निकै खुशी छु । तर एकजना असल र भरपर्दो मित्र संगको विछोडले आज छुट्टै खालको भावनात्मक संवेग उत्पन्न गरेको छ । ल हजुर म लागेँ भनी उहाँले अन्तिममा व्यक्त गरेका विदाइका शब्द सम्झिंदै¸ उहाँले विदाइका भावहरु व्यक्त गरिरहंदा मनमा कताकता नमिठो¸ नियास्रो अनुभुती भयो । हिजोसम्म ख्यालख्यालमै हांसोठट्टाजस्तो लाग्थ्यो । ख्यालख्यालमै विछोडको क्षण पो आएछ । सोलाबाङ्गतिर झर्दा मलाई बाटोभरी उहाँकै याद आइरह्यो । उहाँकै सम्झनामा आँखाहरु रसाइरहे । छातीभित्र मनको गहिरो दिवारमा उहाँप्रतिको माया र सद्भावका गहिरा धट्कनहरुले ढुकढुक गरिरहे । हिजोको दिन म अर्को कुनै थप प्रसंगमा पनि थिएँ । त्यसमै उहाँलाई विदाइ गर्नुपर्ने अवस्थाले थप दुखित र आहात बनायो । नियुक्ति पत्र र रमाना नलिएको हुंदा औपचारिक विदाइ नभएतापनि अनौपचारिक रुपमा भएको हाम्रो विदाइले साह्रै भावुक बनायो ।

 

निजामती सेवाका १० वटा सेवामध्ये नेपाल शिक्षा सेवा¸ शिक्षा प्रशासन समुह र निरीक्षण उपसमुहबाट नेपाल प्रशासन सेवा¸ सामान्य प्रशासन समुहको शाखा अधिकृतमा लोकसेवा आयोगबाट खुला प्रतिस्पर्धामार्फत बढुवा भई जानुभएका आत्मिय मित्र तथा सहकर्मी लालसिंह खड्काको सम्झना मनको गहिरो दिवारभित्र संधै रहिरहनेछ । उहाँ जहाँ गए पनि म उहाँलाई संधैसंधै सम्झिरहनेछु । लालसिं सरको सम्झनामा केही अनुभव र अनुभुतीका प्रसंगहरु खोतलीरहंदा उहाँजस्तै अनुभवी¸ कम्प्युटरमा काविल¸ कार्यालयको दैनिक कामकाजमा अब्बल¸ सेवा प्रवाहमा चुस्तदुरुस्त¸ विश्वासिलो र भरपर्दो¸ शिक्षा सेवाको कामकाजमा काँधमा काँध जोडेर अघि बढ्ने उहाँजत्तिकै सहकर्मी मित्रको खोजीमा छु ।

 

फेरि पनि धेरैधै बधाई छ । साथै नेपाल सरकार¸ निजामती सेवामा आगामी दिनहरु झन् थप उल्लासमय¸ उमंगमय¸ वृत्तीपथमय¸ अहिलेपनि उपसचिवको उम्मेदवार भइरहेको अवस्थामा निरन्तरको साधनापछि फेरि पनि उपसचिवमा समेत सफलता हासिल गरी मुसिकोट नगरपालिकामै स्वागत गर्ने सुवर्ण अवसर मिलोस भन्ने सुभेच्क्षा तथा शुभकामना सहित लेख्नेक्रममा कुनै मिस्टेक भएमा करेक्शन गर्ने वाचा कवोल सहित हालको लागि हार्दिक विदाईका शब्द र केही प्रसंगहरुका संस्मरणात्मक अनुभुती समेटिएको आजको अनलाइन डायरी यहीँ अस्थगित गर्दछु । धन्यवाद । इति सम्वत् २०७८ माघ १८ रोज ३ शुभम् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार