मुसिकोट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमका ६ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी गाउँपालिका उत्कृष्ट भएको हो ।
आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा रुकुम पश्चिममा त्रिवेणी गाउँपालिका प्रथम भएको हो । त्रिवेणी गाउँपालिकाले ७२ दशमलव २९ अङ्क प्राप्त गरेको छ ।
यस्तै आठविसकोट नगरपालिकाले ७० दशमलव ९३ अङ्क प्राप्त गरेको छ । चौरजहारी नगरपालिका ७० दशमलव ९०, सानीभेरी गाउँपालिकाले ७० दशमलव ४१, बाँफिकोट गाउँपालिकाले ६८ दशमलव ९७, मुसिकोट नगरपालिकाले ६६ दशमलव ५९ अङ्क प्राप्त गरेको छ ।
२०७९ असार १० गतेभित्र आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेस गरेरनगरेकोलाई पहिलो सूचक बनाइएको छ । आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेकोलाई दोस्रो सूचक बनाइएको छ ।
स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेको लाई तेस्रो सूचक बनाइएको छ । स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेकोलाई चौथो सूचक बनाइएको छ ।
स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्तसम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेकोलाई पाँचौँ सूचक बनाइएको छ ।
आव २०७८/०७९ को राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, आव २०७८/०७९ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७७/०७८ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७८/०७९ मा कुल विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत खर्च रकम, आव २०७७/०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरेरनगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेकोलाई सूचक बनाइएको छ ।
शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औसत खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्या, आव २०७८/०७९ मा चारपटक गर्भजाँच गर्ने महिलाको सङ्ख्या, आव २०७८/०७९ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या, पूर्णखोप पाएका बालबालिकाको सङ्ख्यालाई सूचक बनाइएको छ ।