बैशाख १९ काठमाडौ
रुपन्देहीमा कोरोना संक्रमण देखिएका युवा वैशाख ५ गते भारतको नयाँ दिल्लीबाट फर्किएको खुलेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका यी २५ वर्षे युवा वैशाख ५ मा नेपाल फर्किएको पाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थय शाखा प्रमुख उमाशंकर चौधरीले बताउनु भयो ।
दिल्लीमा मजदुरी गर्ने युवालाई स्वदेश फर्केलगत्तै मर्चवार आदर्श मावीको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वास्थय अवस्था सामान्य छ ।
अहिले उनलाई बुटवलको रामनगरमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । उनको प्रारम्भिक स्वास्थ्य चेक गर्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन राजेन्द्र खनालले जानकारी दिनुभएको छ ।
यस्तै आजै बाँकेको नेपालगञ्जमा एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको हो ।
संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्यमा ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्।