मुसिकोट । रुकुम पश्चिमका ६ वटै स्थानीय तहको लगानीमा निर्माण भएको स्यार्पू जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । परीक्षण उत्पादन सुरु गरेको करिब एक महिनापछि आयोजनाले ३.३ मेगावाट क्षमतामा व्यावसायिक उत्पादन थालेको हो ।
करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनामा अर्थ मन्त्रालय, जिल्ला समन्वय समिति र रुकुम पश्चिमका ६ वटै स्थानीय तहको लगानी रहेको छ । आयोजनामा अर्थ मन्त्रालयको १ प्रतिशत र जिल्ला समन्वय समिति तथा स्थानीय तहहरूको गरी ५४ प्रतिशत लगानी रहेको छ भने बाँकी ४५ प्रतिशत पब्लिक सेयरमार्फत जुटाउने योजना रहेको स्यार्पू पावर कम्पनी लिमिटेडका अध्यक्ष धनवीर ओलीले जानकारी दिएका छन् ।
आयोजनामा हालसम्म चौरजहारी नगरपालिकाको ६ करोड २९ लाख, सानीभेरी गाउँपालिकाको ४ करोड ९६ लाख, बाँफिकोट गाउँपालिकाको २ करोड ७९ लाख, आठबिसकोट नगरपालिकाको २ करोड ५ लाख, त्रिवेणी गाउँपालिकाको १ करोड ८२ लाख र मुसिकोट नगरपालिकाको ५० लाख रुपैयाँ लगानी रहेको छ । त्यसैगरी जिल्ला समन्वय समिति रुकुम पश्चिमको ६१ लाख ७२ हजार र नेपाल सरकार अर्थ मन्त्रालयको २२ लाख रुपैयाँ सेयर लगानी रहेको बताइएको छ ।
२०८० मंसिरदेखि निर्माण सुरु गरिएको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्न थालिएको छ । गत कात्तिक ६ गतेदेखि लागू हुने गरी विद्युत् खरिद गर्ने आधिकारिक पत्र प्राधिकरणले पठाएपछि व्यावसायिक उत्पादन सुरु गरिएको स्यार्पू पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर प्रदीप ओलीले जानकारी दिए ।
उनका अनुसार हाल आयोजनाबाट दैनिक औसतमा करिब ६५ हजार युनिट विद्युत् उत्पादन भइरहेको छ। उत्पादित विद्युत् प्रतियुनिट ४ रुपैयाँ ८० पैसाका दरले बिक्री गर्दा दैनिक करिब ३ लाख १२ हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।

