गणेश चिन्तन
पैतलाले खुँदेर
ओइलाएको दुबो झैं
सदीयौंदेखि
बस्तीको अलिपर
झरिले भत्किएको
घरको ओसिलो
भित्ता झैं देखिने
पाखोमा टाँसिएको
दमाई गाउँ ।।१।।
विष्टहरूका घरका
ओसिलो आँगनमा
लत्ताकपडा
सिउँदासिउँदै
किरकिरे दमाई
आफै थाङ्नो भएर
देहावसान भए ।।२।।
दिवंगत
किरकिरे दमाईको
फाटेको टोपी र
सेताम्य फुलेको
केस जस्तै
घरका छानाहरू
एकझरि पानीले
लुथ्रुक्क हुँदा
त्यही
ओसिलो मझेरीमा
कयौं किरकिरेहरूका
जिन्दगी अस्ताए ।।३।।
विष्टहरूका घरमा
कहिलेकाही
हर्कबढाँईमा हुँदा
आङ्नमा
बजाउँदै नगरा र छिल्लर
फुक्दै सनई र कर्नाल
मुश्किलले पाएको खुशीमा
एक गिलास
दारूको तुर्को पिएर
विर्सन्छन
जिन्दगीका पीरहरू
विर्सन्छन
दिलका चोटहरू ।।४।
अपमान र घृणाको
सनातनी छातामुनि
दासताको जञ्जिरमा
अभिशप्त बनेको
दमाई गाउँमा
उन्मुक्तिको बिगुल
अझै बजेको छैन
परिवर्तनको आभा
अझै बलेको छैन
तथापि ,
चिबे चरिको लयमा
फटफटाउन थालेका छन्
किरकिरे दमाईका
सन्तानहरू ।।५।।
०८० भाद्र २२, रूकुम पश्चिम