रुकुम पश्चिममा हावाहुरीले मकैबाली नष्ट, दश करोड बढीको क्षति

रुकुम पश्चिममा हावाहुरीले मकैबाली नष्ट, दश करोड बढीको क्षति

फाइल तस्बिर।

मुसिकोट । रुकुम पश्चिमका विभिन्न स्थानमा आईतबार दिउँसोबाट आएको हावाहुरीसँगैको पानीले भित्र्याउने अवस्थामा रहेको मकैखेतीमा ठुलो मात्रामा क्षति पुगेको छ।
कृषि विकास कार्यालय रुकुम पश्चिलका अनुसार जिल्लाभर १० करोड २९ लाख ३९ हजार ३७५ रुपियाँ बराबरको क्षति भएको हो ।

मकैखेतीमा व्यापक क्षति भएकोले यकिन तथ्याङक सङ्कलनको काम सोमबारबाट नै सुरु गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले बताउनुभयो। कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत तीन दिनभित्रमा क्षतिको विवरण सङ्कलन गरेर पठाउन निर्देशन गरे अनुसार आजै जिल्लाका छ वटै पालिकामा प्राविधिक टोलीहरु पठाइएको निमित्त कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालयका अनुसार सबै भन्दा बढी आठबिसकोट नगरपालिकामा पौने चार करोड बराबरको क्षति भएको छ । आठबिसकोटमा तीन करोड ७३ लाख ४७ हजार तीन सय ७५ रुपैयाँबराबरको क्षति भएको छ।

चौरजहारी नगरपालिकामा दुई करोड चार लाख २८ हजार सात सय ५० रुपैयाँ, त्रिवेणी गाउँपालिकामा एक करोड ७२ लाख ६७ हजार नौ सय ६ रुपैयाँ २५ पैसा, मुसिकोट नगरपालिकामा एक करोड ६४ लाख १७ हजार आठ सय १२ रुपैयाँ पाँच पैसाको क्षति भएको छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिकामा ६४ लाख १२ हजार पाँच सय र सानीभेरी गाउँपालिकामा ५० लाख ६५ हजार ३१ रुपैयाँ २५ पैसाबराबरको मकैमा क्षति भएको बताईएको छ ।

निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीका अनुसार मकैबालीमा भएको क्षतिले जिल्लामा खाद्यसंकट आउन सक्ने देखिन्छ । गत वर्षमात्र जिल्लामा उत्पादन भएको मकै मध्य २१५ टन बचत हुन्थ्यो भने यस वर्ष जिल्लालाई एक हजार ६०५ टन मकै अपुग हुने देखिन्छ ।

जिल्लामा यो वर्ष कुल ३ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ । यो क्षेत्रफलमा गतवर्ष ८ हजार ३ सय १३ दशमलव ४ मेट्रिकटन मकै उत्पादन भएको थियो । कुल खेती गरिएको मकैमध्ये ५२ प्रतिशतमा क्षेति पुगेको निमित्त कार्यालय प्रमुख केसीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार