रुकुमकोट । रुकुम पूर्वमा दसैँ, तिहार लगायतका चाडबाडलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको हो ।
आइतबारदेखि आगामी मंसिर ३ गतेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रुकुम पूर्वले सिस्ने गाउँपालिका ६ छिप्रिदहमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले सहुलियत मूल्य पसलको उद्घाटन गर्नुभएको हो ।
उक्त पसलमा साबिकको मूल्यमा प्रतिकिलो ७ रुपैयाँ छुट हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सुपथ मूल्य पसलका लागि जिल्लाका लागि ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।
जिल्लाका लागि समग्र कोटा भने २५ सय क्विन्टल रहेको छ ।