मुसिकोट । सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो ।
तर, अधिकांश सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनले इम्बोस्ड नम्बर जडान नगरेका कारण अल्टिमेटम तोक्नु परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले २८ मंसिरमा सो मिति तोकेर अन्य मन्त्रालयहरुलाई कार्यान्वयनका लागि पत्र काटेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्था हुने तथा दर्ता कायम रहेका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने गरी २२ कात्तिक २०७८ मा राजपत्रमा सूचना प्रकाशन भएको थियो ।