समीक्षाको विमर्शमा – आफ्नै समीक्षा -एक विमर्श 

समीक्षाको विमर्शमा – आफ्नै समीक्षा -एक विमर्श 

भूमिका :-
सरकारी तथा गैरसरकारी संघ संस्था , राजनैतिक संघ संगठन  बा निजी क्षेत्र ,दातृ निकाय वा कुटनैतिक नियोगहरूले विविध क्षेत्रका विविध विषयमा राष्ट्रिय ,अन्तर्राष्ट्रिय ,संघ ,प्रदेश ,स्थानीय  तहमा आयोजना गर्ने ,विभिन्न अन्तरक्रिया , सेमिनार , गोष्ठी , भेला ,बैठक , सम्मेलन , अधिवेशन ,महाधिवेशन लगायत जुन कुनै क्षेत्रको योजना निर्माण तथा कार्यान्वयन , उपलब्धि एवं प्रभाव , चुनौती , सम्भावना एवं त्यसको अनुगमन यी यावत विषयमा  हामीले अरूका धेरै विषयका पाटा पक्षहरूमा समीक्षा विमर्शहरू गरेका र गरिरहन्छौं । चर्का  भाषण , टिका टिप्पणी , आलोचना , समालोचना , कार्यपत्रमाथि आफ्नो धारणा दृष्टिकोण राख्छौं  । तर अरूको समीक्षा विमर्शहरू गर्दागर्दै आफ्नै समीक्षा विमर्श गर्न छुटेको / विर्सिएको क्षेत्र हो पत्रकारिता र तत् कार्यमा संलग्न पत्रकारका विषयमा समीक्षाको विमर्श ।

समाजमा सन्देहको सुविधा व्याप्त छ। यसको सघन उपयोग बढ्दै जाँदा सन्देहवादमा जाने खतरा हुन्छ । सन्देहको सुविधा र त्यसको बढ्त्तोरी विकास घनत्वले समाजको चेतन पक्ष(क्षमता)मा ह्रास आउने र सिंगो समाज सन्देहवादको दलदलमा फस्ने खतरा हुन्छ । समाज र देशका लागि केही गर्ने सोचलाई सन्देहवादले नष्ट गर्छ । तर आज राज्य र समाजको सबै क्षेत्र सन्देहबादतिर लम्किरहेको छ । यो नेपाली समाजको प्रगतिशील रूपान्तरणको सख्त विपक्षमा छ ।

आफुले आफैलाई प्रश्न गर्नु सबभन्दा भारी कुरा हो । हरेक कर्महरू प्रश्नको घेरामा हुन्छन् । असल कर्मले मात्रै त्यसको उचित जवाफ दिने हो । त्यसकारण हामीले एकपटक मात्रै होइन सयौंपटक आफुतिर फर्केर प्रश्न गरौं कि हामीले गरिरहेको पत्रकारिता साँच्चै कस्तो छ ? कसको पक्ष र विपक्षमा गरिरहेका छौं ? के हामी आफ्ना खराबीका बिरूद्ध निर्मम बन्न र हाम्रो कर्मको समीक्षा गर्न तयार छौं ?  यी प्रश्नको वरिपरि रहेर यो लेख तयार गरिएको छ ।

पहिलो प्रश्न :-
हामी कहाँ के गरिरहेका छौं ?

सन्देह आज यत्रतत्र सर्वत्र व्याप्त भैरहेको परिवेशमा पत्रकारिता र उक्त कर्ममा लागेका मान्छेहरू यसबाट अछुतो बन्ने कुरै भएन । हाम्रो पेशागत कर्म र आचरणप्रति सन्देहको घनत्व दिनप्रतिदिन बढीरहेको छ । सन्देहको घनत्व बढ्नुले हामीभित्र र हाम्रो पत्रकारितामा केही खराबी छन् भनेर बुझ्न आवश्यक छ । पछिल्लोपटक पत्रकारितामा केही बदनियतहरू देखिएका छन् । हामीले विस्वसनीयता गुमाईरहेका छौं । हाम्रो कर्मले निश्चय नै केही सन्देहरू जन्माईरहेका छन् । अथवा हाम्रो पेशागत कर्ममाथि धेरैले आशंका गरिरहेका छन् । हामीले लेख्ने र उठाउन खोजेको विषयमाथि चौतर्फी चियोचर्चो बढेको छ । हाम्रो पेशागत कर्ममाथि प्रश्नहरू उठिरहेका छन् । दिनप्रतिदिन हामी र हाम्रो पेशागत कर्म समाजको मुल पक्षबाट कतै न कतै बिचलित छ । जसलाई हामीले स्वीकार्न सकेमा मात्र जिम्मेवारीपूर्वक अघि बढ्न मार्ग प्रशस्त हुन्छ ।

दोस्रो प्रश्न :-
के हामी आफैलाई प्रश्न गर्न तयार छौं ?

प्रथमतः आफ्ना खराबीहरूलाई देख्न र अौंल्यायन जो कसैलाई निकै अप्ठ्यारो विषय हो । परन्तु त्यही अप्ठ्यारो पहाड छिचोल्दा भेटिने सुन्दर मैदान विस्वास हो । गुमेको विस्वास पुनः प्राप्त गर्न झन् निकै गाह्राे विषय हो । अहिले चाहिँ हाम्रो तत् कर्म र आचरण खराब भयो , विस्वास गुम्यो भनेर निष्कर्ष निकाल्नु हुँदैन । यो लेखमा त्यो विषय उठाउन खोजेको पनि होइन । त्यसो गरियो भने त झन् अर्को महाखराबी हुन्छ । आँधी अघिको सन्नाटा जस्तै हो हामीमाथिका सन्देहहरू ।त्यसलाई अन्यथा मानिदैन र मान्नहुन्न ।  आजको दिनमा पत्रकारितामा थुप्रै विसंगति  कमजोरीहरू छन् भनेर हाम्रो स्वीकार्यताको आयतनलाई बढायौं र सो अनुरूप आफ्नो खराबीहरूप्रति निर्मम बन्न सक्यौं भने चाहे त्यो मिसन वा व्यवसायिक पत्रकारिता दुबैमा कमजोरीहरूको आयतन घट्ने र त्यसले समाजमा पुनः सकारात्मक गति , लय र ताल पकड्न सक्छ । त्यसले मात्रै शासन व्यवस्थाका सञ्चालक र त्यसका कुरूप पक्षमा धावा बोल्न सक्छ । हाम्रो सच्चाईले मात्र शासक वर्गलाई मैमत्त हुन दिदैन । मानौं वा नमानौं आजको दिनमा हाम्रो सोच बिचार , दृष्टिकोणहरू बिचलनको बहावमा छन् । हाम्रा सम्बन्ध , बसउठ, हिमचिम , खानपान जीवनशैली , सम्बन्धहरूले आफ्नो धरातल छोडेका छन् र नाफाका लागि उज्यालो वा अँध्यारोमा थापेका कुनै पनि किसिमका पसल व्यवसायहरूसँग हाम्रो सम्बन्ध विस्तार भएको छ । यसले हामीलाई समाज र देशप्रति उत्तरदायी हुन दिदैन । हाम्रो व्यवहारले आफू उभिएको जमिन र टेकेको माटोलाई बिर्सियो भने त्यो समाज र देशप्रतिको घात हो । गद्दारी हो । त्यो व्यवहारबाट विकसित उचाइले देश , देशको माटो भुल्छ । समाज भुल्छ । आफ्नो परिवेश भुल्छ । अन्ततः आफुले आफैलाई भुल्छ । हो , यहिनेर हो हामी आफ्ना खराबीहरूप्रति आफैप्रति निर्मम बन्ने । यसो गर्न सके मात्रै देश र समाजप्रति हामी जिम्मेवार बन्न सक्छौं । अरूप्रति निकै आक्रमक भएर प्रश्न गर्ने हामीहरू हामी आफ्ना खराबीहरूप्रति कति कठोर र निर्मम बन्न सक्छौं ? यो आजको दिनमा हाम्रो पेशागत सच्चाइका लागि अहं र केन्द्रीय प्रश्न हो ।

तेस्रो पश्न :-
के हामी हाम्रो कर्मको इतिहास बुझ्न तयार छौं ?

जनविरोधी सशासन व्यवस्था र त्यसका सञ्चालकलाई आश्चर्यचकित धक्का र उलटफेर गराउन सक्ने ताकत विगतमा पत्रकारितामा थियो । यही यात्राको कर्ममा हिजो हामीसँग शासन व्यवस्था चलाउने शासकहरू डराउँथे । किनकि हामी इमानदार थियौं । हाम्रो बाटो र हामीले अंगालेको कर्म सही थियो । हामीले बोकेको उद्देश्य पवित्र थियो । हामी शासन व्यवस्थाको लाचारिपनमा खवदारी गर्दथ्यौं । लोभ ,लाभ र प्रलोभनमा पर्दैनथ्यौं । शासन व्यवस्था हाम्रो कर्मको खिलापमा हुँदा हामी सामूहिक र संस्थागत रूपमा बोल्थ्यौं र अप्ठ्यारोमा सबभन्दा बढि संस्थागत सहकार्य गरेर राज्यका हर जनविरोधी कृयाकलाप ,नीति र व्यवहारगत वितण्डाहरूसँग जुध्धथ्यौं । त्यसकारण पनि शासकहरू हामीदेखि डराउँथे । नागरिकहरूको नजरमा हामी भरपर्दो साथी र सारथि बनेका थियौं । हाम्रो कर्मलाई समाजले सम्मान र प्रेम गर्थ्यो । हामी समाजका प्रिय र विस्वासीला साथी थियौं ।

हामी उनको दमित आवाज बोल्थ्यौं र लेख्थ्यौं   हामीलाई पनि हाम्रो कर्म र पेशाप्रति माया, विस्वास र गर्व थियो । हामी आफैंले रोजेको , तय गरेको ,निर्माण गरेको ,विस्वास , प्रतिबद्धता र संकल्पको यात्रा  थियो त्यो । जसले हामीलाई राज्यको चौथो अंगको रूपमा चिनायो र इतिहासका तमाम विमतिहरूसँग निर्भीकतासाथ सम्झौताहिन संघर्ष गर्न सिकायो । जसले गर्दा हाम्रो पेशागत क्षेत्र बिशाल , फराकिलो र नागरिकका आवश्यकता र गुनासोहरूलाई  राज्यको पहुँचमा मुखरित गर्ने सेेतु बन्यो । यही कर्मले हामीलाई चिनायो र स्थापित गरायो ।

तर दुखद कुरा ! त्यो इतिहासको ओजस्वी र विस्वासीलो उम्दा ताकत अब हामीसँग छैन । किनकि हामी आपसमा पनि भिड्यौं र भिडिरहेका छौं । टुटफुट र विभाजनमा रमायौं । एकले अर्कोलाई अविस्वास गर्यौं ।एकले अर्काको उछितो काट्यौं । व्ल्याकमेल गर्यौं । इतिहासको मर्यादा र सम्मान गर्न सकेनौं । जसले गर्दा हामी र हामी आवद्ध संघ संगठनहरू कमजोर भए । हामी आफैले निर्माण गरेका संस्थागत मुल्य मान्यता र संरचनाहरू ध्वस्त गर्यौं ।  इतिहासको त्यो ओजस्वी गरिमा ,विस्वासीलो र मर्यादाको विरासतले धानेको हाम्रो कर्म आजको उखरमाउलो राजनीति भन्दा अझ भद्दा र ताजुप लाग्दो अवस्थाबाट गुज्रिरहेेकोछ। यसप्रतिको समान बुझाई , देखाई ,सुनाई र अनुभवको आधारमा इतिहासको संगीन कटघरामा उभिएर आजको हाम्रो नयाँ पुस्ता यसको गंभीरतम समीक्षा र विहंगम विमर्श गर्न तयार हुनुपर्छ । अन्यथा इतिहासको गति हाम्रो विलम्ब समीक्षाका लागि चौतारीमा बसेर पर्खिने छैन । केही बचेखुचेको साख र विस्वास पनि हाम्रै अगाडी निर्लज्ज हुँदै तड्पिएर मर्ने छ ।

चौथो प्रश्न :-
दोषारोपण र बहानामा बहकिने ठिक हो ?

मानौं हामी कुनै जिम्मेवारी तहमा काम गरिरहेका छौं , हामीमाथि केही प्रश्न उठिरहेका छन भने हामीले त्यसको उचित जवाफ दिनुको अलवा पन्छिन र उम्किन खोज्छौं । भाग्न खोज्छौं । अथवा त्यसको उचित जवाफ दिनुको साटो अरू कसैमाथि दोषारोपण गर्छौं र कुनै न कुनै बहानामा पन्छिन खोज्छौं । यो आज हामीभित्र मौलाएको गलत प्रवृत्ति हो । सत्य र तथ्यको गहिराइमा नपुगेर हचुवामा आग्रह पोख्छौं । यो प्रवृत्ति हाम्रो आफ्नै हितमा हुँदैन भने  समाजको लागि झन् कति हित होला ? त्यसकारण हामी हाम्रो जिम्मेवारी र कर्म सम्पादनमा जिम्मेवार बन्नैपर्छ । यसमा हामीले समीक्षा गर्न विलम्ब नगरौं ।

पाचौं प्रश्न :-
हामी एकता चाहन्छौं कि अनेकता ?

लम्बिँदो , छिप्पिदो र पट्यारलाग्दो राजनीतिक अवस्था र संक्रमण यो केवल बहाना हो । तथ्यबाट भाग्ने र मिथ्याको दुन्फेरोमा लपेटिएको आजको पत्रकारिताको घुम्टोलाई नउघारि सत्यको उज्यालो र तथ्यको घाम देख्न बिल्कुल असम्भव छ । सबै दोष राजनीतिमा थोपारेर पत्रकारितालाई जोगाउनु सर्पलाई दुध पियाउनु जस्तै हो । जसले हामी , हाम्रो समाज र देश सुरक्षित हुन सक्दैन । बहानाबाजीले हामीलाई जिम्मेवारी , दायित्व र कर्तव्यबाट विमुख बनाईरहेको छ । राजनीतिको बोलीमा लोली मिलाउने र राजनीतिक डम्फूको तालमा नाच्ने हामी र उनका कार्यकर्ताहरूमा के भिन्नता छ ? हामी समाजको संयोजनकारी हुनुको साटो विभाजनकारी भएका छौं । हाम्रो कर्म त्यही बोल्छ । हाम्रो व्यवहार त्यही भन्छ । टुटफुट र विभाजनमा बौरिने राजनीतिको आजको मुल प्रवृत्ति हो । राजनीतिमा जुन प्रवृत्ति छ त्यसको दुरुस्त प्रतिबिम्ब पत्रकारितामा छ । हामीमा छ । एकतामा भन्दा अनेकतामा आफ्नो सुरक्षित जीवन भविष्य देख्ने हाम्रो पनि मुल प्रवृत्ति बनेको छ । अनेकतामा आफुलाई सबल ,सफल र सक्षम देख्ने हामी दुराग्रही भएका छौं ।त्यसैले हामी र हाम्रो पेशागत कर्म सङ्लो र शुद्ध छैन । यसैमा नाफा र हित देख्ने हामीहरू आम मान्छे र राजनैतिक नेता तथा कार्यकर्ता भन्दा हामी कसरी भिन्न भयौं ? विग्रहमा रमाउने अझ आगोमा घिउ थप्ने हामीहरू कसरी सही हुनसक्छौ  ? यसमा गंभिर बिचार विमर्श जरुरी छ ।

छैठौं प्रश्न :-
हामी पनि एउटा ड्याङका मुला भएनौं र ?

राजनीतिलाई खाँटी पेशा बनाएर धन्यढ्य् पंक्तिमा उभिएका भ्रष्ट नेताहरू  , राज्यको वेतन र सुविधा भोग गरेर पनि अकुत सम्पत्तिका मालिक बनेका भ्रष्ट कर्मचारीहरू , राज्यलाई कर छलि गर्ने ठुला व्यवसायिक घराना तथा निर्माण ठेकेदार कम्पनीका मालिकहरू, कुटनैतिक नियोगका उच्च पदस्तहरू, सरकारी तथा गैरसरकारी निकायका हाकिमहरूसँग नियमित बसउठ , मिलिभगत र अवाञ्छित कर्म गरेर आफुलाई पनि सम्पत्तिको मालिक स्तरमा उभ्याउने हामी सही हुन सक्छौं ? हामी पनि आज  स्वार्थहरुको दलदलमा बेस्सरी फसिरहेका छौं । राज्यको चौथो अंगको परिभाषाबाट हामीले यो हुर्मत गरिरहेका छौं । यसकारण हामी पनि एउटै ड्याङका मुला भयौं ।

सातौं प्रश्न :-
यी सबै अवाञ्छित हुर्मतहरूको जिम्मेवार कोहो ?

फलतः हाम्रो पहिचान , परिचय र कर्मलाई आम तह र तप्काले सन्देबाट हेर्न परिस्थिति निर्माण अरू कसैले नभई हामी आफैले निर्माण गरेका हो । यसको जिम्मेवार अरू कोही नभई हामी आफैले लिने हो । सच्चाईका लागि पनि अरू कोही नभई हामी आफै लाग्ने हो । हामीले गर्ने आजको समीक्षा यही हो ।

निष्कर्ष :-

प्रथमतः हामी आफै फोहोर भयौं । हाम्रो कारणले पत्रकारिताको घडा फोहोर बनेको छ । सिसिक हुनेगरी लेदो जमेको छ । यो घडालाई अरू कसैले नभई हामी आफैले सफा गर्ने हो । किनकि हामीले नै हो त्यो घडा फोहोर गरेको । त्यसैले घडा सफा गर्न धेरै विलम्ब नगरौं । लेखक विक नेपाल पत्रकार महासघ रुकुम शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार