मुसिकोट । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने बानीलाई तोड्दै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० घर भई हाल अमेरिकामा रहनुभएका प्रमोद ओलीले उदाहरणीय काम गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसरमा आफुले पढेको बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।
विद्यालयका प्रधानाध्यापक खम्ब बहादुर खत्रीका अनुसार विद्यालयका पूर्व बिद्यार्थी ओलीले उपलब्ध गराएको सहयोग एक कार्यक्रमका बिच बालबालिकालाई वितरण गरिएको हो । बुधबार बालबालिकाहरुलाई कापी र कलम उपलब्ध गराईएको हो ।
प्रधानाध्यापक खत्रीले कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरु र कक्षा ६ देखि ९ सम्मका असाहय, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो ।
सहयोगीदाता ओलीले आफ्नो दैनिक खर्च कटौती गरेर र फजुल खर्च जोगाएर आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत भाईबहिनीहरुलाई सहयोग गरेको जानकारी दिनुभयो । आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने उहाँको भनाई छ ।