सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा कार्यरत उपसचिव लोकप्रसाद पौड्याललाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालय तथा मातहतका निकायहरूको वार्षिक कार्यक्रम, प्रशासनिक कार्य र समग्र कार्यान्वयनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै उपसचिव पौड्याललाई प्रशंसा पत्र सहित सम्मान गरिएको मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर पदमराज देवकोटाले जानकारी दिनुभयो ।
“कर्णाली प्रदेश स्थापना दिवस–२०८२” को अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले उपसचिव पौड्याललाई प्रशंसा पत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री बुढाले उपसचिव पौडेलको लगनशीलता र कार्यकुशलताले मन्त्रालयको कार्यसम्पादनमा थप सहयोग पुगेको बताउनुभयो ।
मन्त्री बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्त्रालयका सचिव इन्द्र देव भट्ट, मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।