काठमाडौं र देशका अन्य केही विमानस्थलमा खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रभाव परेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतका अनुसार, काठमाडौंको दृश्यता (भिजिबिलिटी) हाल १६ सय मिटर रहेको छ।
दिल्लीबाट आएको एयर इन्डियाको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि पुनः दिल्ली फर्किएको छ। उक्त विमानको लागि कम्तीमा २२ सय मिटर भिजिबिलिटी आवश्यक थियो। ठूला विमानहरूलाई सामान्यतया २२ सय मिटर वा सो भन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ।
अन्तर्राष्ट्रिय उडानका विमानहरू अवतरणका लागि सिमराको आकाशमा होल्डमा राखिएका छन्। दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान हाल सिमराको आकाशमा होल्डमा रहेको छ। मौसमको कारण ठूला विमानहरू अवतरणका लागि अनुकुल मौशमको पर्खाइमा छन्।
आन्तरिक उडानतर्फ, तुम्लिङटार, भरतपुर, सुर्खेत र राजविराज विमानस्थलमा मौसम अनुकूल नभएको कारण उडान सञ्चालन हुन सकेका छैनन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार, अन्य आन्तरिक विमानस्थलमा उडान सामान्य रूपमा भइरहेको छ।

