काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि काठमाडौँमा विभिन्न पेसा व्यवसाय गरेर बसेकाहरू गाउँ फर्किन थालेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जसअनुसार अब गाउँ फर्किनेहरूका लागि अब अब ५ दिनको समयमात्रै बाँकी छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले निर्वाचनमा करिब ७ देखि ८ लाख मानिसले काठमाडौँ छोड्ने अनुमान गरिएको छ।
सिटौलाले पछिल्ला केही दिनदेखि नै मानिसहरू बाहिरिने क्रम सुरु भइसकेको बताउँदै अबको केही दिनमा यो सङ्ख्या अझै बढ्ने बताए । विशेषगरी मधेस प्रदेशमा होली पर्व नजिकिएको र निर्वाचनका कारण अत्यधिक चाप देखिएको उनको भनाइ छ ।
विगतका चुनावहरूमा राजनीतिक दलहरूले नै ठुलो सङ्ख्यामा गाडी रिजर्भ गर्ने र मतदाताको भाडा तिर्ने प्रचलन बढी हुने गरेको भए पनि यस पटक त्यस्तो अवस्था कम देखिएको सिटौलाको भनाइ छ ।
उनले भने, ‘अहिले दैनिक बुकिङ नै भइरहेको छ, अग्रिम बुकिङको चाप त्यति छैन । पार्टीहरूले नै रिजर्भ गरेर लाने भन्दा पनि मानिसहरू आफैँ वा समूहमा रिजर्भ गरेर जाने क्रम बढी छ ।’
साथै यातायात व्यवसायीहरूले मतदाता ओसार्न दलहरूले प्रत्यक्ष पैसा तिरेको आधिकारिक जानकारी नभए पनि मानिसहरूमा चुनावमा जाने उत्साह भने राम्रो रहेको बताएका छन् ।


