साहित्यकार बसन्ती शाहीका दुई कृति लोकार्पण

साहित्यकार बसन्ती शाहीका दुई कृति लोकार्पण

काठमाडौं । साहित्यकार वसन्ती शाहीको एक साथ दुई वटा कृति लोकार्पण गरिएको छ। शनिबार सुर्खेतमा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले एक कार्यक्रमबीच लोकार्पण गरेका हुन्।

हुम्ला जिल्लामा स्थायी ठेगाना भएकी साहित्यकार वसन्ती शाहीद्वारा लिखित ‘आमा र आँसु’ कथा संग्रह र ‘यादका थुँगाहरू’ कविता संग्रह एउटै कार्यक्रममा लोकार्पण गर्ने कार्य प्रदेश प्रमुख जोशीबाट गरिएको कृतिका लेख शाहीले बताइन्।

कथा र कविता संग्रहमा समेटिएका सामग्रीको विषयवस्तु विशेष गरी कर्णालीको समसामयिक विषय, कुरिती, कुसंस्कार, कुप्रथा, विकृति, विसंगतिलाई समेटिएको छ।

त्यसैगरी, कर्णालीका महिलाको पीडालाई विषयवस्तु बनाइएको छ। साहित्यकार शाहीले कर्णाली विकासलाई पनि कृतिहरूबाट सन्देश दिन खोजेकी छन्।

कार्यक्रमका प्रदेश प्रमुख जोशीले कृतिहरूले कर्णालीको बास्तविकतालाई कोट्याउने प्रयास गरिएको बताए। यी कृतिले कर्णाली मात्र नभएर सुदुरपश्चिमका महिलाहरूको प्रतिनिधत्व गरेको उनले बताए।

कार्यक्रममा महेश विक्रम शाह, डाक्टर महेन्द्रकुमार मल्ल, डाक्टर नवराज केशी र पत्रकार ज्योति कटुवालले कथा र कविता संग्रहका बारेमा र साहित्यकार शाहीका बारेमा चर्चा गरेका थिए।

दुवै कृति निक्कै सरल, सहज, सामान्य भाषा शैलीमा कृति रचना गर्न साहित्यकार सफल भएको उनीहरूको भनाइ थियो।
कर्णालीमा साहित्य रचना गर्ने सीमित महिलामा शाही पनि पर्ने भनाइ वक्ताहरूको थियो। कार्यक्रमका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुरले कृतिबारे चर्चा गरेका थिए।

साहित्यका शाहीले पनि आफ्नो भोगाइ र सिकाइबारे जानकारी दिएकी थिइन्। हुम्लाकी महिलाले भोगेको पीडा आफूले पनि भोगेको उनले बताइन्।
यसअघि पनि उनले कवितालगायत अन्य तीन वटा रचना प्रकाशन गरिसकेकी छन्। आमा र आसु कथा संग्रहमा १४ वटा कथा समेटिएको छ भने यादका थुँगा कविता संग्रहमा ८२ वटा कविता समेटिएका छन्। कवि तथा कथाकार शाही कर्णाली प्रदेशका प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्षसमेत हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार