मसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ साधनचौरमा अटो र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
बुधबार बेलुका मध्यपहाडी सडकखण्डमा खलंगाबाट सिम्लीतर्फ जाँदै गरेको अटो र मोटरसाईकल एक आपसमा ठोकिदा तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका -३ निवासी सुवर्ण पुन मगरले चलाएको लु.प्र.०२-००१ ह २३७१ नम्वरको अटो दाहिनेतर्फ मोड्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको मोटरसाईकलसँग ठोकिएको हो ।
त्रिवेणी गाउँपालिका -१० निवासी २३ वर्षीय महेश ओलीले चलाएको रा ६ प ८५३४ नम्वरको मोटरसाईकल र अटो ठोकिन जादाँ दुर्घटना भएको हो ।
दुर्घटनामा परी तीन जना घाईते हुनुभएको छ । घाईते हुनेहरुमा मोटरसाईकल चालक ओली र मोटरसाईकलमा सवार त्रिवेणी गाउँपालिका १० निवासी २४ वर्षका लक्ष्मण ओली रहनुभएको छ ।
चालक ओलीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको छ भने मोटरसाईकल पछाडी सवार ओलीको बायाँ हात र खुट्टामा चोट लागेको छ । त्यसैगरी अटो चालक पुनको शरिको विभिन्न भागमा चोट लागेको छ ।
तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । घाईतेको अवस्था सामान्य रहेको छ ।

