काठमाडौं । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भदौ १० मा हुने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिएका हुन्।
प्रतिनिधिसभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख छ । उक्त व्यवस्थाअनुसार सभामुखले भदौ १० को समय तोकेका हुन् ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने जानकारी दिए ।
बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढीमा १५ प्रश्न सोध्न सकिने बताए ।
उनले प्रश्नकर्ता सांसदलाई भदौ ५ गते शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाका सचिवलाई लिखित रुपमा बुझाउन सकिने उनको भनाइ छ।
प्रश्नकर्तालाई धेरै लामो नभएर संक्षिप्त प्रश्न दिन ध्यानाकर्षण गराए । आजैको प्रतिनिधिसभा बैठकबाट उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए ।

