मुसिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै रुकुम पश्चिममा गाउँ–नगर अधिवेशन सुरु भएको छ ।
जिल्लाका ६ वटै स्थानीय तहमा बुधबार गाउँ–नगर अधिवेशनको प्रक्रिया सुरु भएको हो। नेपाली कांग्रेस रुकुम पश्चिमका अनुसार स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।
केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ भने केही स्थानमा मतदानको प्रक्रियासमेत सुरु भएको जनाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर १ हजार ७८५ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । यही प्रतिनिधिहरूमार्फत गाउँ–नगर तहको नयाँ नेतृत्व तथा कार्यसमिति चयन हुनेछन् ।
कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार अधिवेशनबाट हरेक पालिकामा पाँच पदाधिकारी चयन हुनेछन् । जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सह–सचिव निर्वाचित हुने व्यवस्था छ ।
सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट कोषाध्यक्षको चयन गर्ने व्यवस्था छ । सदस्यहरूका हकमा पालिका कार्यसमितिमा प्रत्येक वडाबाट एक महिला र एक खुला, युवा क्लस्टरबाट एक महिला र दुई खुला तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन् ।

