मुसीकाेट । आफुले ज्ञान आर्जन गरेको विद्यालय प्रतिको माया, सम्मान र दायित्व कति हुन्छ भन्ने कुरा रुकुम पश्चिमको एक सामुदायिक विद्यालयका पूर्व विद्यार्थीले देखाएका छन् । ती विद्यार्थीले व्यक्तिगत लगानीमा विद्यालय परिसरमा सरस्वतीकाे मूर्ति निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका १३ निवासी विजय केसीले आफैले अध्ययन गरेको महेन्द्र माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर र मूर्ति स्थापना गरेका हुन् ।
हाल अमेरिकामा रहेका केसीले कक्षा १ देखि १० हुँदै सोही विद्यालयमा अध्ययन गरी ३ वर्षे डिप्लोमा आईएसीएजि समेत अध्ययन गरेका थिए । उनले आफूले शिक्षा आर्जन गरेको विद्यालयमा केहि गर्ने सोच बनाएर र सोही अनुसार विद्याकी देवी सरस्वतीको मन्दिर र मूर्ति निर्माण गरेको बताए। आफूले ज्ञान आर्जन गरेको विद्यालय परिसरमा मन्दिर र मूर्ति स्थापना गर्न पाउँदा आफुलाई गर्व लागेको केसीले बताए ।
मन्दिर निर्माता केसीका बुवा झकबीर केसीका अनुसार पाँच लाख भन्दा बढी रकमको लागतमा मन्दिर र मूर्ति निर्माण भएको हो । आज एक कार्यक्रमका बिच विद्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा विधिपूर्वक सरस्वतीको मूर्ति प्रतिस्थापन गरिएको छ । मूर्ति स्थापनासँगै पूजा–आराधना समेत गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक झलक पुनले पूर्व विद्यार्थी विजय केसीको योगदानलाई शिक्षाप्रतिको माया, जन्मथलोप्रतिको आत्मीयता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा चित्रण गर्नुभयो। उहाँले विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण भएपछि विद्यार्थीमा सकारात्मक संस्कारको विकास हुनुका साथै शैक्षिक वातावरण प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस अघि बिद्यालयमा सरस्वतीको मन्दिर थिएन ।
मुसिकोट नगरपालिका १३ का वडा अध्यक्ष खलबहादुर खड्काले हाल परदेशमा रहेर पनि आफुले अध्ययन गरेको विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए। उनका अनुसार केसीले सामाजिक उत्तरदायित्वको क्षेत्रमा नमूनायोग्य योगदान गरेका हुन् ।
आज भएको कार्यक्रममा मन्दिर निर्माताका बुवा र आमालाई विद्यालयको तर्फबाट सम्मान समेत गरिएको छ । सम्मान पत्र र दोसल्ला ओढाएर उहाँहरुलाई सम्मान गरिएको हो ।


