रुकुम पूर्व । जनप्रतिनिधि र सरकारी निकायसँग पटक–पटक आग्रह गर्दा पनि गाउँको समस्या समाधान नभएपछि रुकुम पूर्वकी एक किशोरीले आफ्नै कमाइबाट पुल निर्माण गरेकी छन् ।
भूमे गाउँपालिका–९ लुमा गाउँकी १५ वर्षीया सदीक्षा ओलीले सामाजिक सञ्जाल फेसबुकबाट कमाएको ६० हजार रुपैयाँ खर्च गरेर दोमै खोलामा काठे पुल निर्माण गरेकी हुन् । कक्षा १० मा अध्ययनरत उनले गाउँलेले वर्षौंदेखि भोग्दै आएको आवतजावतको समस्या समाधानका लागि आफैं अग्रसरता देखाएकी हुन् ।
गत असारमा आएको बर्खाको भेलले दोमै खोलामा रहेको पुरानो पुल भत्काएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो । विशेषगरी विद्यार्थीलाई विद्यालय जान, स्थानीयलाई वडा कार्यालय तथा सदरमुकाम पुग्न र गाईबस्तु वारपार गराउन जोखिम मोल्नुपर्ने अवस्था थियो ।
गाउँको समस्या समाधानका लागि सदीक्षाले गत भदौ १ गते सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पुल निर्माणको माग गरेकी थिइन् ।
भिडियोमा उनले ‘प्रचण्ड बाजे’ भन्दै गाउँको पुल भत्किएको र बालबालिकासमेत जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएको भन्दै समस्या समाधान गरिदिन आग्रह गरेकी थिइन् । उनको उक्त भिडियो सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । धेरैले किशोरीको साहस र गाउँको समस्याप्रतिको चिन्तालाई लिएर प्रतिक्रिया जनाए ।
तर, भिडियो सार्वजनिक भएको लामो समयसम्म पनि पुल निर्माणका लागि ठोस पहल नभएपछि सदीक्षाले आफैं समाधान खोज्ने निर्णय गरिन् । फेसबुकबाटै गाउँको समस्या उठाएकी उनले सोही सामाजिक सञ्जालबाट कमाएको रकम गाउँको आवश्यकतामा खर्च गर्ने सोच बनाइन् ।
सामान्य किसान परिवारमा हुर्किएकी सदीक्षाले रहरैरहरमा फेसबुक चलाउन थालेकी थिइन् । उनका भिडियोमा दर्शकको आकर्षण बढ्दै गएपछि फेसबुक खाता मोनिटाइज भयो र त्यसबाट आम्दानी हुन थाल्यो । त्यही आम्दानी उनले व्यक्तिगत प्रयोजनमा खर्च नगरी पुल निर्माणमा लगाउने निर्णय गरिन् ।
उनका अनुसार फेसबुकबाट कमाएको रकमले गाउँको समस्या समाधान गर्न सकिन्छ भन्ने लागेपछि पुल निर्माणमा जुटेकी हुन् ।
सदीक्षाको अगुवाइमा आफन्त तथा स्थानीय गाउँलेसमेत निर्माण कार्यमा सहभागी भए । गाउँमै उपलब्ध काठ प्रयोग गरी तीन दिनको निरन्तर मेहनतपछि करिब चार मिटर लामो काठे पुल निर्माण गरिएको हो ।
पुल निर्माणमा जस्तापाता, किलाकाँटा र दक्ष कामदारको ज्यालासहित ६० हजार रुपैयाँ खर्च भएको छ । उक्त सम्पूर्ण खर्च सदीक्षाले फेसबुकबाट गरेको आम्दानीबाट व्यहोरेकी हुन् भने स्थानीयले श्रम तथा अन्य आवश्यक सहयोग गरेका थिए ।
पुल निर्माणपछि लुमा गाउँका बासिन्दालाई दैनिक आवतजावतमा सहज भएको छ । विशेषगरी विद्यार्थी, वृद्धवृद्धा तथा गाईबस्तु चराउन जाने स्थानीयलाई खोला वारपार गर्न सहज भएको छ ।

