मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार २३३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन र काठमाडौं मेडिकल कलेज (केएमसी) को आयोजना तथा आठबिसकोट नगरपालिकाको सह-आयोजनामा सञ्चालित शिविरमा त्यस क्षेत्रका स्थानीयहरुको सहभागिता रहेको थियो ।
शिविरमा ३१८ जनाले भिडियो एक्सरे, १२७ जनाले इको, ७० जनाले इसिजी र ५३ जनाले ल्याब सेवा लिएका छन्। यस्तै, तीन जनाको दाँत निकालिएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा जटिल समस्या देखिएका तथा थप उपचार आवश्यक पर्ने २१९ जनालाई काठमाडौं मेडिकल कलेज अस्पतालमा रिफर गरिएको छ ।
रिफर गरिएका बिरामीहरू थप उपचारका लागि आगामी पुस ५ गते काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुर पुग्नुपर्नेछ । उनीहरूको औषधि तथा औषधिजन्य सामग्री र खाना–बसोबास खर्चबाहेक बेड चार्ज, परीक्षण शुल्क, शल्यक्रिया शुल्कलगायतका सम्पूर्ण उपचार निःशुल्क हुने व्यवस्था मिलाइएको छ ।
शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका सर्वसाधारणले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श सेवा लिएका थिए ।
शिविर सफल बनाउन खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वयंसेवक, सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सहयोगीहरूप्रति नेपाली कांग्रेस आठबिसकोटका नगर सभापति लालबहादुर भण्डारीले आभार व्यक्त गर्नुभएको छ ।
विशेषगरी दुर्गम गाउँबस्तीका गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य सेवा अभियान सञ्चालन गर्नुभएका समाजसेवी डा. सुनिलकुमार शर्मा र उहाँको सम्पूर्ण टोलीलाई भण्डारीले धन्यवाद दिनुभएको छ ।
कर्णालीका दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउन्डेसन र केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

