लुम्बिनि कोरोना अस्पतालमा मृतक युवाको शव बुझ्नै हच्किए आफन्त

लुम्बिनि कोरोना अस्पतालमा मृतक युवाको शव बुझ्नै हच्किए आफन्त

कोरोनाभाइरस संक्रमणको आशंकामा उपचारका लागि लुम्बिनि कोरोना (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको शव बुझ्न आफन्तहरू हच्किएका छन् ।

बुटवलको कोरोना अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएका रुपन्देहीको सैनामैना ४ निवासी ३४ वर्षीय बाबुराम थापाको शव बुझ्न आफन्त र छरछिमेक कोही नआएको अस्पतालले जनाएको छ ।

आफन्त र छरछिमेक कोही अघि नसरेपछि अस्पतालले नै शव व्यवस्थापन गरेको छ ।

“उहाँको श्रीमती मात्र हुनुहुन्थ्यो, अरू कोही पनि आउनुभएन,” अस्पतालका डा. थापाले हिमालखबरसँग भने “आफन्त र छरछिमेक कोही पनि नआएपछि हामीले नै शवलाई लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राख्ने व्यवस्था गर्‍यौं, रिपोर्ट आएपछि मात्र शवको अन्तिम संस्कारका बारेमा टुंगो लाग्छ ।”

डा. थापाका अनुसार मृतक थापा ६ चैतमा दुबईबाट नेपाल आएका थिए । दुबईमा पर्यटक ओसार्ने ट्याक्सी चालकको रुपमा कार्यरत उनलाई नेपाल आउँदा नै ज्वोरो आएको थियो ।

७ चैतमा चेक जाँच गर्दा ज्वोरो देखिएपछि उनले घर नजिकैको स्थानीय मेडिकलमा उपचार गराएका थिए । मेडिकलको उपचारले सञ्चो नभएपछि १३ चैतमा मात्र उनी अस्पतालको सम्पर्कमा आएको डा. थापाले बताए ।

बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनको आज बिहानदेखि स्वास्थ्य थप खराब भएर मृत्यु भएको डा. थापाले बताए ।

उनको मृत्युको कारण कोरोनाभाइरसको संक्रमण हो वा होइन भन्ने स्पष्ट भईसकेको छैन । थापाले उनको स्वाब परिक्षणका लागि आज मात्रै काठमाडौ पठाइएको र प्रयोगशालाबाट रिर्पोट आएपछि मात्र पुष्टि हुने बताए ।

बुटवलमा कोरोना विषेश अस्पताल स्थापना गरिए पनि बिरामीका लागि आइसीयू र भेण्टिलेटरको सुविधा छैन । दुबईबाट आएका ती युवालाई आइसीयु भएको हस्पिटलमा सार्ने तयारी गर्दागर्दै मृत्यु भएको डा. थापाले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार