परीक्षाहलबाट निकालिएका रामजी र पंकजले परीक्षा दिन पाउने

परीक्षाहलबाट निकालिएका रामजी र पंकजले परीक्षा दिन पाउने

काठमाडौँ । एमबिबिएसको परीक्षाहलबाट निकालिएका दुई दलित विद्यार्थीले अब हुने परीक्षा दिन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोग र इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) को पहलमा उनीहरूलाई परीक्षामा सहभागी गराइने भएको छ ।

गैरकानुनी शुल्क तिर्न नमानेपछि दुबैजनालाई सोमबार परीक्षाहलबाट निकालिएपछि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । त्यसपछि आइओएमले कडा निर्देशन दिएको हो । अब वीरगन्जस्थित नेसनल मेडिकल कलेजले रामजी राम र पंकज रामलाई परीक्षामा सामेल गराउने भएको छ ।

परीक्षाबाट निकालिएका रामजी रामका अनुसार कलेजले फाराम भर्न बोलाएको र बाँकी रहेको परीक्षामा सहभागी हुन भनेको छ । तीन विषयको परीक्षामध्ये एउटा परीक्षा छुटेको रामले बताए । योसँगै रामजी र पंकजले बुधबारको परीक्षा दिन पाउने भएका हुन् ।

सोमबारदेखि सुरु भएको एमबिबिएस परीक्षा दिन गएका उनीहरूलाई कलेजले शुल्क नतिरेको भन्दै परीक्षाहलमा छिरेको एक मिनेटमै बाहिर निकालेको थियो । चिकित्सा शिक्षा आयोगले आइतबार नै आइओएम र कलेजलाई दुवैजना विद्यार्थीलाई परीक्षामा सहभागी गराउन पत्राचार गरेको थियो ।

सोमबारको परीक्षा भने दुवैजनाको छुटेको छ । दलित छात्रवृत्ति पाएका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगले बस्न र खानबाहेकका शीर्षकमा रकम नलिन कलेजहरूलाई निर्देशन दिएको छ । तर, कलेजले भने ल्याब, पुस्तकालय, भर्ना शुल्क र अन्य भनेर थप साढे सात लाखको बिल थमाएको छ ।

रामजी र पंकज अहिले एमबिबिएस पाँचौँ वर्षमा अध्ययनरत छन् । सरकारले ०७२ मा बादी, डोम, मुसहर र चमारलाई पढाउने कार्यक्रम ल्याएको थियो । त्यहीअन्तर्गत दुवैजना नेसनल मेडिकल कलेजमा भर्ना भएका हुन् । उनीहरूको सम्पूर्ण खर्च विश्वविद्यालय अनुदान आयोगले तिरिदिने व्यवस्था छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार