झारफुकका क्रममा तातो फलामले डाम्दा एकको मृत्यु, दुई घाइते

झारफुकका क्रममा तातो फलामले डाम्दा एकको मृत्यु, दुई घाइते

सांकेतिक तस्वीर

बुटवल । गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा ज्यान गएको छ । सदरमुकाम तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको हो भने अन्य दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो १२ बजे मुखियालाई झारफुक गरि सञ्चो बनाइदिने बहानामा तातो फलामले शरीरमा डाम्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिएका छन ।

गुल्मीको मालिका गाउँपालिका-६ अर्जे स्थायी घर भइ अहिले रेसुङ्गा नगरपालिका-१ तीनधारामा भाडामा अस्थायी टहरा बनाइ बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीय श्रीमती शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको अनुसन्धाबाट खुलेको पन्तले बताएका छन ।

मुखियासँगै रहेका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ का पुनबहादुर दमाईकी श्रीमती टोपला दमाई पनि तातो फलामले डाम्दा घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको अनुहारसहित शरीरका विभिन्न भागमा पोलेको डाम छ । घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । अहिले श्रेष्ठ दम्पती प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार