कोरोना रोक्न सरकारको कदम : आम नागरिकलाई सरकार वास्तविक अभिभावक भएको अनुभुती

कोरोना रोक्न सरकारको कदम : आम नागरिकलाई सरकार वास्तविक अभिभावक भएको अनुभुती

पाण्डव शर्मा 

कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले ‘लकडाउन’ गरेको एक साता पूरा भएको छ । परिस्थितिलाई कावुमा ल्याउन सरकारले लकडाउनको अवधि आगामी २५ गतेसम्मका लागि थप गरेको छ ।

नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसमध्ये एक जना पूर्ण रुपमा निको भएर घरमा स्वास्थ्य लाभ गरिरहेका छन् । अन्यको अहिले उपचार भइरहेको छ । विश्वका अधिकांश विकशित मुलुकहरुमा तीब्र रुपमा फैलिरहेको कोरोना संक्रमण सरकारको उचित पहलदमीले नेपालमा अहिलेसम्म नियन्त्रणमै देखिएको छ ।

सरकारले अँझ पहिले नै लकडाउन गरेको भए र विदेशबाट आउनेहरुको स्वास्थ्य चेकजाँच राम्रो ढंगले गर्न सकेको भए यी सङ्क्रमितहरुको पनि तत्काल पहिचान हुन सक्थ्यो । नेपालमा लकडाउन हुनुभन्दा करिब एक साता अघि देखि छिमेकी मुलुक भारतबाट लाखौं नेपालीहरु स्वदेश फिर्ता भए ।

उनीहरु नेपाल फर्कदा गाउँगाउँसम्म संक्रमण फैलने कतिपयले अनुमान गरेका थिए । तर, अहिलेसम्मको अवस्था हेर्दा उनीहरुबाट जोखिम बढेको देखिदैन । हालसम्म देखिएका पाँच जना संक्रमति सबै तेस्रो मुलुकबाट आएका नेपाली हुन् ।

कोरोना संक्रमणको लक्षण १४ दिनसम्म देखिने भएकाले अँझै पनि भारतबाट आएकाहरु कोही पनि संक्रमित थिएनन् भनेर भन्न सकिदैन । तर, भारतमा पनि त्यतिबेला कोरोनाको संक्रमण तीव्र रुपमा फैलिनसकेकाले नेपालीहरुमा संक्रमण नभएको अनुमान गर्न सकिन्छ । भारतमा काम गर्न जाने अधिकांश नेपालीहरु मजदूरीमा जाने भएकाले उनीहरुमा संक्रमण नआएको हुन सक्छ ।

स्थानीय रोग नभएर भारतमा पनि विदेशको पँहुच भएकाहरुमा संक्रमण देखिएको छ । ती व्यक्तिहरुसँग नेपालीहरुको खासै पँहुच देखिदैन । तर, भारतमा होटेलका मजदूर तथा सुरक्षा गार्डहरु नेपालीहरु पनि भएकाले उनीहरुमा पनि सरेको छ कि भन्ने अनुमान गरिएको थियो । उनीहरुमा संक्रमण भएको थियो की थिएन भनेर यकिन हुन अँझै एक साता कुर्नुपर्ने देखिन्छ ।

सरकारको सकारात्मक कदम

सरकारले नेपालमा दोस्रो व्यक्तिमा संक्रमण फैलिएको पुष्टि हुने वित्तिकै तत्काल लकडाउन गर्ने निर्णय गरेर संक्रमण फैलनबाट धेरै हदसम्म बचाएको छ । तर, विदेशबाट सोही उडानमा आएका नेपालीहरु गाउँगाउँम्म पुगेकाले अँझै जोखिम देखिन्छ । सरकारले अन्तराष्ट्रिय उडान अँझ एक साता अघि नै बन्द गरेको भए उक्त जोखिम पनि हुँदैन थियो ।

अहिले सरकारले सबै प्रदेशमा कोरोना संक्रमण भएकाहरुका लागि उपचारको व्यवस्था गरेको छ । यो निकै स्वागतयोग्य कदम हो ।

अहिले स्थानीय तहहरुमा धमाधम क्वारेन्टाइन बनाउने काम भइरहेको छ । विदेशबाट आउनेहरुको स्वास्थ्य परिक्षण र तथ्यांक संकलनको काम पनि तीव्र गतिमा भइरहेको छ । जनताले अहिले वास्तविकरुपमा बलियो सरकारको अनुभूति गरेका छन् ।

सरकारका कामको आलोचना गर्ने थुप्रै ठाउँहरु होलान् तर, हाम्रो जस्तो आर्थिक रुपमा कमजोर मुलुकले यो भन्दा बढी कदम चाल्न सक्ने ठाउँ थिएन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । जुन ढंगले सरकारले पहलदमी लिएको छ । यसले आम नागरिकलाई सरकार वास्तविक अभिभावक भएको अनुभुती भएको छ । सरकारले जनताको स्वास्थ्य र जीवनको चिन्ता गरिरहेको छ भन्ने कुराको पूर्णरुपमा पुष्टि भएको छ ।

विश्वबाट हामीले सिक्नुपर्ने पाठ

कोरोना संक्रमण नियन्त्रणका लागि हामीले विश्वका अन्य मुलुकहरुबाट पाठ सिक्न जरुरी छ । यसको ज्वलन्त उदाहरणको रुपमा इटलि, स्पेन, अमेरिका, चीन र दक्षिण कोरियालाई लिन सकिन्छ ।

चीन र दक्षिण कोरियाले अपनाएको साबधानी र इटली, स्पेन तथा अमेरिकाले गरेका लापरबाहिबाट हामीले पाठ सिक्नुपर्छ । विश्वका शक्तिशाली राष्ट्र मानिएका अमेरिका र यूरोपियन मुलुकहरु अहिले तहसनहस भएका छन् । उनीहरु सैन्य र आार्थिक मामिलामा जति शक्तिशालि भए पनि स्वास्थ्य जस्तो संवेदनशिल विषयमा कति कमजोर रहेछन् भन्ने कुराको पुष्टि भएको छ ।

विश्वको महाशक्ति अमेरिका अहिले कोरोनाकै कारण कमजोर बनेको अनुभुती भएको छ । कम्युनिष्ट नेतृत्व भएको चीनले अहिले विश्वमा जबरजस्तरुपमा आफ्नो प्रभाव जमाउन सफल भएको छ । उसले संसारका सबै मुलुकमा स्वास्थ्य सामग्री तथा अन्य राहत प्रदान गरेको छ । उसले आफ्नो मुलुकमा कोरोना लगभग नियन्त्रण गरिसकेको छ ।

दक्षिण कोरियाको नेतृत्वको उचित पहकलकदमीबाट अहिले त्यहाँ पनि कोरोना नियन्त्रण उन्मुख छ । तर, गलत नेतृत्व भयो भने बलियो शक्ति पनि कसरी तहसनहस हुन सक्छ भन्ने कुराको उदाहरण अहिले विश्वमहाशक्ति अमेरिका बनेको छ ।

सन्काह र गैरराजनीतिक चरित्र भएको व्यक्तिको नेतृत्वका कारण अहिले अमेरिका कोरोनाकै कारण तहसनहस हुने अवस्थामा छ । तुलनात्मक रुपमा पछिल्लो दशक तीब्र आर्थिक विकास गरिरहेको एशियाली मुलुक भारतले पनि कोरोना संक्रमण रोक्न उचित पहल गरेको देखिन्छ ।

नेपालले चाल्नुपर्ने कदम

मुलुक लकडाउन भएको एक साता पूरा भएको छ । हाम्रा लागि अबको एक साता निकै कठिन र चुनौतिपूर्ण छ । एक साताको चुनौतिलाई हामीले सचेत ढंगले सामना गर्यौं भने नेपाललाई कोरोना मुक्त मुलुक बनाउन सकिन्छ ।

हामीले कोरोना परिक्षणको दरलाई ह्वात्तै बढाउनुपर्छ । अहिले काठमाण्डौंको शुक्रराज शास्त्री सरुवारोग अस्पताल टेकुमा मात्रै कोरोनाको परिक्षण भइरहेको छ । सरकारले अहिले सातवटै प्रदेशमा परिक्षणको तयारी गरिरहेको छ । हामीले एक साताको बीचमा जतिसक्दो परिक्षण दर बढाएर उनीहरुको उपचार गर्नुपर्छ ।

संङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखेर परिक्षण गर्नुपर्छ । जनस्तरबाट विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न प्रेरित गर्नुपर्छ ।
संक्रमतिहरुको संख्या बढेको खण्डमा अँझ लकडाउनलाई थप्नुपर्ने हुन सक्छ ।

यदी संक्रमतिहरुको संख्या बढेन भने हामीले लकडाउनलाई खुकुलो बनाउन सकिन्छ । तर, अन्तरराष्ट्रिय उडान र छिमेकी मुलुक भारतको नाका भने अँझै केही समय बन्द गर्न जरुरी छ ।

अहिले पनि छिमेकी मुलुक भारतका विभिन्न ठाउँबाट मान्छेहरु आइरहेका छन् । उनीहरुलाई रोक्नका लागि सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन जरुरी छ । यसमा आम नागरिकले सरकारलाई सहयोग गर्न जरुरी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार