निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय सल्यान

निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय सल्यान

सल्यान । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने मिति घोषणा गरे सँग जिल्ला निर्वाचन कार्यालय सल्यान निर्वाचनको तयारीमा जुटेको छ। निर्वाचन हुने वा नहुने भन्ने विषयमा विवाद भइरहँदा कार्यालय तयारीमा जुटेको हो।

अहिले जिल्लामा मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत मधुकर कुमार शाहले जानकारी दिए। माघ १५ देखि स्थानीय तहमा सात दिन र जिल्ला स्तरमा १२ दिन अध्यावधिको काम गरिने उनले बताए।

‘सरकारले बैशाखमा गर्ने भनेर घोषणा गरिएको निर्वाचनको तयारी सुरु गरेका छौँ। नयाँ मतदाता नामावली संकलन कार्य गत पुस ६ गतेदेखि नै स्थगित गरिसकेका छौँ।’ उनले भने, ‘गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावली भएको सबैले मतदान गर्न पाउँछन्।’

२०७४ सालमा सम्पन्न निर्वाचनमा सल्यानमा १ लाख ३४ हजार २१३ जना मतदाता रहेकामा गत पुस ६ गतेसम्म १ लाख ४१ हजार २२० मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी शाहले जानकारी दिए। यस्तै, जिल्लाभर १८५ वटा मतदान केन्द्र र १११ वटा मतदान स्थल निर्धारण गरिएको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार