बुधबार हराएकी १७ वर्षीया किशोरीको शव फेला

बुधबार हराएकी १७ वर्षीया किशोरीको शव फेला

काठमाडौं ।  बुधबार हराएकी बैतडीकी भागरथी भट्ट बिहीबार बेलुका मृत अवस्थामा भेटिएकी छन्। किशोरीको शव जंगलमा फेला परेको छ । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

जिल्ला दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो। ती किशोरीको शव स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव जंगलमा फेला परेको हो। उनले भने, ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ।’

ती केटाहरूमाथि नै शंका गरेका छौँ, भट्टले भने, ‘किटानी जाहेरी दिन्छौँ, संलग्नलाई कडा कारबाहीको माग छ।’

संलग्नलाई कानुनी दायरामा नल्याउँदासम्म घटनानस्थलबाट शवसमेत नउठाउने आफन्तले बताएका छन्। ती किशोरी बुधबारसम्म विद्यालयमा उपस्थित भएकी सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए।

घटनास्थलकै प्रकृति हेर्दा शंकास्पद भएको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए। उनले भने, ‘बीच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला।’

घटनालाई गम्भीर रुपमा लिएको र थप अनुसन्धानका लागि घटनास्थलतर्फ आफै गइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

घटनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाइसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

किशोरी खोचलेक स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार