चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

त्रिशुली । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताउनुभयो ।

“विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न”, देउवाले भन्नुभयो, “अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।”

कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गर्नुभयो ।

विसं २०५८ मा विपी स्मृति भवनका नाममा शिलान्यास भएको पार्टी कार्यालय करीब रु चार करोड लगानीमा निर्माण गरिएको हो । उक्त भवनसहित त्यहाँ रहेको गणेशमान स्मृति सभाकक्ष, डिजिटल बोर्डलगायतको पनि आजै उद्घाटन गरिएको छ । भवनमा नौ कोठा तथा बन्द सभाकक्ष र खुला गरेर दुई सभाकक्ष छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार