बागलुङमा पहिलोपटक भित्रियो विद्युतीय स्कुटर

बागलुङमा पहिलोपटक भित्रियो विद्युतीय स्कुटर

बागलुङ । जिल्लामा पहिलोपटक विद्युतीय स्कुटर भित्रिएको छ । ‘एस एण्ड एस’ अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर भित्र्याएको हो । स्कुटर सो रुमको बिहीबार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गरे ।

उनले विद्युतीय सवारी साधनले वातावरणीय स्वच्छता कायम राख्न सघाउनुका साथै र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउने बताए । “इन्धन खरीदमा नेपालबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिने गरेको छ”, नगरप्रमुख पौडेलले भने, “विद्युतीय सवारी साधनको प्रयोगले देशभित्रै पूँजी र स्रोतसाधनको परिचालन हुनेछ ।”

शो रुमका सञ्चालक विष्णुराज पन्तले रु एक लाख ३५ हजारदेखि रु दुई लाख १७ हजारसम्म मूल्यपर्ने स्कुटर बिक्रीमा राखिएको बताए । उनका अनुसार लिथियम र लिड गरी दुई किसिमका ब्याट्रीबाट चल्ने स्कुटर शो रुममा छन् ।

लिथियममा आधारित ब्याट्री भएको स्कुटर एकपटक चार्ज गरेपछि १०५ किमी र लिड ब्याट्रीबाट ६५ किमी गुड्छ । लिथियम ब्याट्रीको एक लाख ५० हजार किमी र लिड ब्याट्रीको ६५ हजार किमी ग्यारेण्टी रहेको सञ्चालक पन्तको भनाइ छ ।

यस्तै स्कुटरलगायत अन्य पाटपूर्जामा एक वर्षको सुनिश्चितता छ । स्कुटरको प्रतिघण्टा ५५ किमिसम्म गुड्न सक्ने क्षमता छ । विद्युत् भएको ठाउँमा ब्याट्री सजिलै चार्ज गर्न सकिने जनाइएको छ । बागलुङ बजारका केही मुख्य स्थानमा चार्जिङ स्टेशनसमेत राख्ने तयारी गरिएको सञ्चालक पन्तले बताए ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिइरहेका बेला बागलुङमा विद्युतीय स्कुटर भित्रनु सुखद रहेको बताए । कानूनअनुसार दर्ता गरेर जिल्लामा विद्युतीय स्कुटर सञ्चालनको प्रबन्ध मिलाइने उनको भनाइ छ ।

वातावरणमैत्री विद्युतीय स्कुटर सञ्चालनले बजार क्षेत्रको प्रदूषण घटाउन टेवा पुग्ने उनको विश्वास छ । शुभारम्भसँगै बिहीबार नै पर्वतका रामकुमार केसी र बागलुङका राजु पुनले स्कुटर खरीद गरेको ‘एस एण्ड एस’ अटोमोबाइलले जनाएको छ ।

नगर प्रमुख पौडेलले पनि विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि नगरपालिकाका तर्फबाट एउटा स्कुटर खरीद गर्ने प्रतिबद्धता जनाएका थिए । शो रुमसँगै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याइएको छ । महाशिवरात्रि पर्वका अवसरमा स्कुटर खरीदमा छुटको सुविधासमेत छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार