आज रामनवमी पर्व : देशैभरि कोरोनाको प्रभावले पूजामै सीमित

आज रामनवमी पर्व : देशैभरि कोरोनाको प्रभावले पूजामै सीमित

?????????????????????????????????????????????????????????

लक्ष्मण केसी , काठमाडौँ

आज देशैभरि हिन्दू धर्मावलम्बीहरुको आस्थाको पर्व रामनवमी श्रद्धापूर्वक मनाइँदै छ । तर पनि देशभरि कोरोना भाइरसको सन्त्रासका कारण पर्व भने औपचारिकतामै सीमित भएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व मनाइने गरिन्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ । त्यसैको सम्झनामा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा रहिआएको हो ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ र मेला महोत्सव लाग्ने गर्छ । तर यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउन र भीडभाड नगर्न जारी निर्देशनका कारण भक्तजनले घरमै बसेर आराधना गरी मनाउँदै छन् ।

प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् रामचन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ ।

विगतका वर्षहरुमा क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दथ्यो । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँथे । यसपालि भने यहाँ सुनसान रहने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार