सिमित श्रोत छ, असिमित माग आँउछन् : वडा अध्यक्ष केसी

सिमित श्रोत छ, असिमित माग आँउछन् : वडा अध्यक्ष केसी

रुकुम (पश्चिम) को मुख्य प्रशासनिक केन्द्रमा रहेको मुसिकोट नगरपालिका वडा नम्वर १ व्यापारीक, धार्मिक र पर्यटकिय क्षेत्रको समेत राम्रो सम्भावना वोकेको स्थान हो । जिल्लाका मुख्य प्रशासनीक अड्डा, व्यापारिक गतिविधि, शैक्षिक संस्था, बित्तिय संस्था लगायतका कार्यालयहरु रहेको यस वडा क्षेत्रले समग्र जिल्लाको परिवर्तन, विकास, सभ्यता, चेतनास्तर समेतलाई प्रतिनिधित्व गर्दै आएको छ । यसै बिषयमा वडा अध्यक्ष बिरवल केसी सँग गरिएको कुराकानिको सार ।

जिल्लाको मुटुमा रहेको वडा सरकारका पछिल्ला गतिविधिहरु के कस्ता रहेका छन्?

दैनिक प्रशासनिक गतिविधिहरु निरन्तर र नियमित छन् । वडा कार्यालयको क्षेत्राधिकार भित्र पर्ने सिफारिस, राजश्व संकलन, घर जग्गाको चार किल्ला प्रमणित लगायतका कार्य जारी छन् । यसका अलावा नगरपालिका, प्रदेश र संघीय सरकारबाट यस क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको अनुगमन, विभिन्न निकायहरुसँगको समन्वय, सहजिकरण पनि भैरहेको छ । अहिले वडा कार्यालयबाट गरिने योजनाहरुको सम्झौता गर्ने काम भैराखेको छ ।

वडा सरकार बनेपछि औल्याउँन मिल्ने महत्वपूर्ण कामहरु के के भए ?
संघीयता पछि जनताको आँगनमा र प्रत्यक्ष सेवामा उभिएको वडा सरकारका दैनिक प्रशासनिक कार्यहरु सरल, सहज, पहँुचयोग्य र पारदर्शि रुपमा भैरहेका छन् । थुप्रै समस्याहरु स्थानीय जनप्रतिनिधिको हिसाबले समाधान गरिएको छ, समाधानका लागि सहजिकरण गरिएको छ । यसका अलावा, विकास निर्माणका हिसावले भन्नुपर्दा वडा कार्यालय क्षेत्रमा रहेका विभिन्न ७ ओटा बिद्यालयमा नयाँ भवन बनाईएको छ । छिङमा स्वास्थ्य चौकि, सार्वजनिक शौचालय बनाईएको छ । पातुखोला – कारागार खानेपानी आयोजनाको डिपीआर सम्पन्न गरिएको छ भने मठ काँडेदह खानेपानी योजना सम्पन्न गरिएको छ । मुख्य बजार देखि पातुखोला सडक ढलान गरिएको छ । थुप्रै सार्वजनिक स्थानहरुको मर्मत तथा निर्माण कार्य गरिएको छ । जनताको माग अनुसार कार्य गर्न र योजनाहरुको व्यवस्थापन गर्न क्रियाशिल छौ ।

चाहना हुँदा हुँदै पुरा गर्न नसकिएका कामहरु के के छन् ?

सिमित अधिकार तथा बजेट र असिमिति मागहरु छन् । यस वडामा रहेका ७ ओटै टोललाई नमूना तथा उदाहरणिय बनाउने सोच हो । यस्को परिणाम विस्तारै देखिएला । बजार क्षेत्रको बाटो र सहायक बाटाहरु आहा भन्न लायक बनाउने सोच हो । पातुखोला क्षेत्रको बाटो अपुरै छ । मठ र रावलबाराबाट प्रसिद्ध डिग्रे मन्दिर जाने बाटो पिच गर्ने योजना हो । सल्ले मठको माथिल्लो बाटो बनाउने र आँखा अस्पतालको राम्रो व्यवथापन गर्ने सोच हो । थुप्रै सोच र योजना हुँदा हुँदै बेलैमा पुरा गर्न सकिदैन कि भन्ने लाग्छ ।

योजना र सोच बेलैमा पुरा नहुँनाको खास कारण ?

यसको खास कारण बजेटको अभाव हो । जनतालाई सरकारको प्रत्यक्ष अनुभूति दिलाउन वडा सरकारका अधिकार क्षेत्र सिमित बनाउनु हुदैन । वडाको अधिकार संकुचित बनाईएको छ । वडाले उठाएको राजश्व यहाँकै क्षेत्रमा आवश्यकताको आधारमा विनियोजन गर्न पाईएको छैन । वडा कार्यालयलाई खाता संचालनको अधिकार छैन । आवश्यक जनशक्ति समेत अभाव रहेको छ । स्थानीय तहलाई आँगनको सरकार मानिन्छ, तर माथीबाटै अधिकार क्षेत्र र बजेट व्यवस्थापनमा कन्जुस्याँई गरिएको छ ।

यहाँको खानेपानी र फोहोर व्यवस्थापनको समस्या कहिले समाधान होला ?

खानेपानीको समस्या करिव समाधान उन्मुख रहेको छ । दैनिकजसो बजार क्षेत्रबाट आउँने फोहोर व्यवस्थापनको जिम्मा नगरपालिका आफैले लिएर कार्य गरिरहेको छ । यसको लागि राजश्व संकलन, कर्मचारी खटाउने र फोहोर उठाउने कार्य नगरपालिकाले गरिरहेको छ, तथापी केहि गुनासाहरु छन् । वडा कार्यालयले सचेतना र समन्वयको लागि काम गरेको छ । बजार क्षेत्रबाट आउने फोहोर व्यवस्थानको लागि दिगो योजना र सबै स्थानीयको सकारात्मक सहयोग जरुरी छ ।

यस कार्यकालमा सम्पन्न हुने गरी थालिएका अन्य योजनाहरु के के छन् ?

मुख्य बजारको बाटो अब तत्कालै ढलान सम्पन्न हुदैछ । कैलदेउ–गिलवाङ्ग सडक र वराहाटाकुरा–पिपलनेटा सडक निर्माण आरम्भ गरिदैछ । टोल टोलबाट छनौट भएर आएका माग तथा योजनाहरु प्राथमिकीकरण गरेर काम गर्दैछौ । कतिपय सम्झौता नै भईसके, केहिको लागि बजेट व्यवस्थापनको प्रयास गर्दैछौ । (मुसिकोट गतिविधि)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार