रुकुम पश्चिममा कोरोना परिक्षण गर्ने एन्टीजेन किट अभाव

रुकुम पश्चिममा कोरोना परिक्षण गर्ने एन्टीजेन किट अभाव

मुसिकोट । कोरोना भाइरसको संक्रमण परिक्षणको दायरा बढाउने बेलामा रुकुम पश्चिममा एन्टिजेन किट अभाव भएको छ । किट अभावको कारण संक्रमणको आशंका गरिएका र परिक्षणको लागि अस्पताल जाने सर्वसाधारणहरु रित्तै फर्कने गरेका छन् ।

किट नभएपछि जिल्लाको आठबिसकोट नगरपालिकाले तीन दिन लगाएर संकलन गरेका १ सय १९ जनाको स्वाव बिहिबार सुर्खेत पठाएको जनाएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक मनिराज शाहका अनुसार एक चरणमा सबैको स्वाव परिक्षण गर्ने भनिएता पनि किट अभावको कारण समस्या भएको छ । अहिले नगरपालिकामा आपतकालिन अवस्थाको लागि भनेर एक ओटा मात्र एन्टिजेन किट रहेको संयोजक शाहले बताउनुभयो ।

जिल्लाको त्रिवेणी गाउँपालिका पनि किट अभावको कारण कोरोना परिक्षण हुन सकिरहेको छैन । कोरोना बिरुद्ध घरदैलो कार्यक्रम सञ्चालन गरेको बेला कोरोना परिक्षणको लागि किट अभाव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले बताउनुभयो ।

जिल्लाको बाँफिकोट गाउँपालिका पनि कोरोना परिक्षण हुन सकिरहेको छैन । सानीभेरी गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले गाउँपालिमा किटको अभावको कारण परिक्षणको दायरा बढाउने अभियान असफल भएको बताउनु भएको छ । जिल्लाका कोरोना संक्रमितको संख्या दैनिक जसो बढेपछि परिक्षणको दायरालाई फराकिलो पार्नुपर्नेमा किट अभाव कारण परीक्षण बन्द गरिएको उहाँले जनाउनु भएको छ ।

जिल्लाको मुसिकोट र चौरजहारी नगरपालिकामा केहि मात्रामा किट रहेको बताईएको छ । इमरजेन्सि जाँचको लागि चाहिने भन्दै केहि किट राखेका दुबै नगरपालिकाले चाहेर पनि परिक्षणको दायरा बढाउन नसकिएको बुझिएको छ ।

जिल्लाका सबै पालिकाहरुले किट खरिदको कार्यलाई अगाडी बढाईएको बताएतापनि बेलैमा उपलब्ध हुन सकिरहेको छैन । जिल्ला अस्पताल सल्लेमा गत बैशाख ३१ गतेबाट कोरोना परिक्षण बन्द नै गरिएको छ । अत्यावश्यक अवस्थाको लागि भनेर केहि किट राखिएतापनि दैनिक २० देखि २५ ओटा किट परिक्षण हुने गरेकोले जिल्ला अस्पतालमा पनि किट अभाव रहेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख बिष्णु बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार अस्पतालले तीन हजार किट खरिदको लागि प्रक्रिया बढाएता पनि हाल सम्म जिल्लामा आईपुगेको छैन ।

जिल्लाका सबै स्थानीय तहहरु कोरोना संक्रमण बिरुद्ध लागि परेको बेला कोरोना परिक्षणको लागि आवश्यक एन्टिजेन किट अभाव हुनु दुखद पक्ष रहेको स्थानीयको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार